…अनि म बेश्या बनें (भाग-३)

Prostitute

निकै बेर घुमघाम र रमाइलो पछी साँझ अबेर गरेर आइपुगेको थिएँ म त्यो दिन अपार्टमेन्टमा, साथीहरु सबै सुतिसकेका थिए | त्यो दिन पहिलोपटक उसको फोन नम्बर पाएको थिएँ मैले, रुममा छिर्नासाथ “म आइपुगें” भनेर मेसेज गरें मैले, कोहिनूरलाई |

“धन्न पुग्नुभएछ” उसले रिप्लाई गरि, जिस्किँदै जिस्किँदै मेसेज गर्दै रह्यौं निकैबेरसम्म | उ संग मेसेज गर्दै गर्दा अतित बल्झियो नराम्रोसंग, बितेका पलहरु ताजै भएर आए स्मृतिमा | लगभग बिस्मृतप्रायः भैसकेका अतितका पलहरु सम्झिंदै गर्दा निकै जतनले राखेको पुरानो डायरी याद आयो | बस्तु र समय पो पुरानिंदै जाँदो रहेछ, तर याद जति पुरानो भयो त्यतिनै गाढा बन्दो रहेछ र तिनै गाढा याद हरुको संग्रह थियो त्यो डायरी | पुरानो थियो तरपनि अत्यन्तै प्यारो थियो मेरो लागि | मेरो स्मृतिमा धुमिल भैसकेका घटनाहरु ताजै थिए त्यो डायरीका पानाहरुमा | पल्टाएर हेरें | सुरुवाती दिनहरुमा स्तुतीसंग हुने गरेका मोबाइल च्याटको संग्रह नै थियो त्यो डायरी भन्दा पनि हुन्छ | मेरो बानि थियो- कुनै महत्वको केहि कुरा छ भने त्यसको टिपोट तुरुन्त राखिहाल्थें र मलाइ त्यो समयमा स्तुतीको र मेरो सम्बन्ध पनि अत्यन्तै महत्वको लाग्थ्यो, र त उसले गरेका हरेक एसएमएस संग्रहित थिए त्यो डायरीमा | हेर्दै गएँ स्तुतीले अस्ट्रेलिया जानुभन्दा अगाडी पठाएको एउटा मेसेजमा पुगेर टक्क अडिएँ | त्यो समयका हरेक पलहरु झन-झन ताजा बनेर आए | डियर, मलाइ नबिर्सनु अनि धेरै चुरोट पनि नखानु | मलाइ थाहा छ हजुर धेरै खर्च गर्नुहुन्छ, केहि त बचत गर्नुस बाबा, पछी काम लाग्छ, अनि अर्को कुरा छिट्टै अस्ट्रेलिया आउनु, म त्यहाँ कुरिरहेकी हुनेछु तपाइंलाई |” फेरी एकपटक त्यहि मेसेज पढें | आँखाबाट एक थोपा आँशु तप्प चुहिएर डायरीमा पर्यो | नजिकै रहेको टावेलले डायरीमा परेको आँशु पुछें | किचनमा गएँ, एक गिलास चिसो पानि पिएँ | कोठामा फर्किएर सिरानी नजिकैको टेबलमा रहेको बट्टाबाट एक खिल्ली चुरोट निकालेर सल्काएं र बाहिर बरन्डामा निस्किएँ | रात निकै बितिसकेको थियो, तल सडक किनारका ल्याम्प पोस्ट र गुडिरहेका सवारीहरूको बत्तीले झलमल्ल थियो चारैतिर | अनि त्यहि समयमा बेचैन मन लिएर आफ्नो देश भन्दा निकै टाढाको कुनै एउटा अपार्टमेन्टको बरन्डामा चुरोट पिउँदै थिएँ म | अनि त्यहि पुरानो डायरीका हरेक पानाहरुमा झन्डै मेटीइसकेको हाम्रो सम्बन्धको अस्तित्व खोज्दै थिएँ | जति जति डायरीका पानाहरु पल्टाउँदै जान्थें त्यतिनै गाढा भईदिन्थे अतितका यादहरु, अनि रोपिन्थे मुटुमा तिखो शूल बनेर | जिन्दगीको एउटा अध्याय फेरी सुरु भएथ्यो त्यो बेला, भलै स्मृतिमा नै किन नहोस | बिर्सिएका धेरै घटनाहरु फेरी एकपटक ताजा भएर आए मेरो मानसपटलमा | पानाहरु पल्टिंदै जांदा फेरी एउटा पुरानो पत्रमा पुगेर अल्झिए आँखाहरु, त्यो अन्तिम पत्र थियो मैले स्तुतीको लागि लेखेको, जसलाई मैले मायाले “कालु” भनेर सम्बोधन गर्ने गर्थें | करिब आठ दश वर्ष पहिले लेखिएको त्यो पत्रको व्यहोरा थियो-

प्रिय कालु,

बाहिर उज्यालो छ, सडकमा गाडीहरु गुडिरहेका छन्, नानाथरी गानाहरु बजिरहेका छन् यत्रतत्र | डान्स, डिस्को, क्लब अनि के-के, के-के? भिडभाड छ जताततै | तिमीलाई थाहा छ ? यो यस्तो शहर हो जहाँ तिमीजस्ता युबतीहरुको किनबेच हुन्छ | मोलमोलाई हुन्छ यौबनको, अनि सुन्दरताको | यहाँ प्रेमको कुनै अर्थ छैन, त्याग अनि समर्पणको कुनै मोल छैन, छ त केवल उन्मादको मोल छ, जवानीको भाउ छ | हरेक सुन्दर युबतिको छुट्टै मोल तोकिएको छ अनि तिमीलाई स्वतन्त्रता छ आफुले चाहेकी युबतिको मोल तिरेर भोग्ने, उसलाई | हो यहाँ केवल भोक व्याप्त छ, अनि ब्याप्त छन् जताततै त्यहि भोकलाई पैसामा रुपान्त्तरण गर्न चाहने दलालहरु | तर यो पनि नसम्झ, यो पुरै शहर अनि यहाँका युबतीहरुको मूल्य तोकिएको छ | यहि शहरमा चोखो प्रेम गर्ने युबतीहरु पनि भेटिन्छन, अनि सुम्पिन्छन तिमीलाई आफ्नो सर्वश्व, निशु:ल्क | पैसामा तिनीहरुको प्रेमलाई दाँज्न मिल्दैन, भाउ तोक्न सकिंदैन तिनीहरुको त्याग अनि समर्पणको | हो कालु, यो शहर साँच्चिकै अनौठो छ, तिमि जे खोज्छौ त्यहि भेटिने स्वर्गको सानो टुक्राजस्तो छ शहर | भोक र पीडा खोज्छौ तिमीभने तिमीले कल्पना गर्नै नसक्ने भोक र पीडा पनि भेटिन्छ यो शहरमा अनि यहि शहर, जहाँ तिमिहामी जस्ता मध्यम बर्गकाले सपनामा पनि नदेखेको सम्पन्नता भेटिन्छ |

निकै ब्यस्त छ यो शहर, अनि त्यहि व्यस्ततासँग रमिरहेको छ यो भीड पनि | यो भीड अनि यहाँको व्यस्ततामा रमाउनु कसैको रहर होला, अनि कसैका बाध्यता पनि | जे होस् यो भिड हेर्दा लाग्छ कि, लेकसाइड अर्थात यो शहर कहिले सुत्दैन अनि म पनि यो नसुत्दासम्म जागै रहने गर्छु, आजकल | अर्थात म र लेकसाइड अनन्य मित्र भएका छौं | संगै ब्युझंछौं अनि संगै सुस्ताउछौं पनि | माफ गर, तिमीलाई भन्नै बिर्सेछु, आज म लेकसाइडमा छु | एउटा उपक्रमको थालनी गरेको छु मैले हिजोआज, नशा पिएर बिर्सने, तिमीलाई र ति सबै क्षणहरुलाई जो हामीले संगै बिताएका थियौं | अनि त्यहि उपक्रममा म आज यहाँ आइपुगेको छु | यहाँ अर्थात लेकसाइडको त्यहि होटल अनि त्यहि रुम, जहाँ तिम्रो र मेरो पहिलो रात बितेको थियो संगसंगै | जसले हामिबिचको निकटता बढाइदिएको थियो र त हामि अत्यन्तै नजिकिएका थियौं त्यो दिन शारीरिक रुपमा नै |

प्रिय कालु, हुनत म शब्दहरुको खेति गर्न जान्दिन तैपनि आज मन नलागी नलागी केहि लेख्दैछु तिम्रो नाउँमा | तिमि छैनौ मन शुन्य-शुन्य भएको छ | निरस लाग्दैछ यो जिन्दगी | हिजोआज धेरै नै कमि महसुस भैरहेको छ तिम्रो | कहिलेकाहीं, म खुसि हुन्छु, अनि कहिलेकाहीं दुखी पनि | त्यस्तै बेला तिमीलाई खोज्छ मनले | तर म न यी खुसिहरु तिमीसंग साट्न सक्छु, न रुन नै सक्छु, भक्कानिएर तिम्रो अंगालोमा |

अनि हेरन तिमीलाई भन्नै बिर्सेछु एउटा कुरा “आजको मान्छे रहरले बाँच्दैन रे” कसैले भनेको सुनेथें | सायद, उ गलत थिएन | र यति बुझ “म पनि रहरले बाँचेको छैन | ज्युँदो छु त फगत मर्ने आँट नभएर |” अचम्म लागेको होला है तिमीलाई? मेरा बेफ्वाँक अनि बेतर्कका कुराहरु सुनेर | भो पीर नगर, यो नै अन्तिम हुनेछ | तिमीलाई थाहा छ, मान्छे भ्रम पालेर खुसि हुन नसक्ने रहेछ | मैले प्रयास गरेको छु, हजारौं पटक | तिम्रो जन्मदिनको उपहार पछी धेरै पटक रोएको छु म, एक्लै बसेर, एकान्तमा | सबैको अगाडी खुसि भएको नाटक गर्छु, र पनि सफल हुँदिन | हामीले आफुले आफैंलाई जति धोका दिएपनी ऐनाले नदिँदोरहेछ | जब म ऐना अगाडी उभिन्छु नि, देखाइदिन्छ छरपष्ट आफैंलाई कि म कति पीडामा बाँचेको छु | कति चोटहरु संगालेको छु, आफैंभित्र |

अहिले रातको १:०० बज्दैछ र पनि सडक सुनसान छैन, सवारीहरु गुडिरहेका छन् | अँध्यारो कतै छैन, चारैतिर उज्यालै उज्यालो छ | म देखिरहेछु, यहाँ केहि अँध्यारो छ भने त्यो आकाश अनि मेरो मन अँध्यारो छ | जो न अँध्यारिएको देख्छ दुनियाले, न उज्यालिएको | अनि फेरी यहि अँध्यारिएको मनमा निराशा थप्न एउटा आवाज आइरहेछ मेरो कानसम्म | अपशकुन, कतै टाढा, कुकुर रोइरहेछ यो मध्यरातमा |

सधैं तिम्रो

शास्वत

पत्र पढिसकेपछि डायरी बन्द गरें | फेरी एउटा अर्को चुरोट सल्काएं र सडकतिर हेरें | यो सडक पनि ठ्याक्कै त्यस्तै लाग्छ, लेकसाइडको जस्तै | अनि यो शहर पनि उस्तै जसलाई सुत्ने कुनै हतार छैन | चुरोट पिउँदै आफ्नै अतित सम्झिँदै गर्दा फेरी त्यहि कुरा याद आउँछ | त्यहि कुरा अर्थात स्तुतीकै कुरा | अनि स्तुती, अर्थात मेरी भूतपुर्ब प्रेमिका |

समय राम्रैसंग चल्दै थियो | सबै कुरा ठिकै थियो | बाबा, आमा, इष्टमित्र अनि चारैतिरका साथीभाई सबैसंग राम्रै थिएँ म | सके सबैलाई सहयोग गर्थें, नसके शुभकामना मात्रै भए पनि दिन्थें | कम्तिमा कसैको कुभलो चिताउदैनथें | अनि त्यहि समयमा मेरी एउटी प्रेमिका थिइ, स्तुती | हाम्रो सम्बन्ध सबैलाई थाहा थियो र स्वीकार्य पनि | ब्राह्मण परिवारकी, पढेकी, अनि शुसिल युबती थिई उ | होइन, म शुसिल मान्थें उसलाई | त्यसैले हुनुपर्छ सायद, मैले घरमा उसको कुरा राख्नासाथ एकैपटकमा स्वीकार भएको थियो हाम्रो सम्बन्ध | अनि उसको घरमा पनि त्यस्तै भएको हुनुपर्छ, सायद | जब घरबाट नै सम्बन्धमा कुनै रोकतोक थिएन भने हामी समाज संग डराउने किन? डराएनौं | तरपनि हामीबीच एउटा सिमितता थियो | घेरा बनाएका थियौं हाम्रो सम्बन्धको आफैंले र त्यो घेरा कहिल्यै तोडेनौं पनि | प्रेमी-प्रेमिका बिचको पबित्र सम्बन्ध कायम थियो तर अचानक भूइंचालो गयो मेरो जीवनमा | मेरो बिश्वास गर्ल्यामगुर्लुम ढल्यो अनि तहसनहस भयो मेरो सपनाको संसार |

मलाइ “अस्ट्रेलिया आइज म कुरेर बस्नेछु” भन्दै अन्तिम एसएमएस पठाएर विदेशिएकी उसले विदेशिएको केहि समय पछी अचानक मेरो साथ छोडेकी थिइ अन्तिम पटक फोन गरेर मेरो जन्मदिनको अवसरमा | अझै भन्दै थिइ “म तँलाई माया गर्छु र तँ मेरो लागि अत्यन्तै प्रिय छस र रहिरहनेछ्स” | मेरो जन्मदिन अर्थात जेष्ठ १९ गते राति २ बजे फोन गरेर भनेकी थिइ उसले मलाइ;आइ नो यु विल हेट मी, बट आइ एम नो मोर अ भर्जिन, एण्ड आइ डन्ट वान्ट यु टु म्यारी अ क्यारेक्टरलेस गर्ल लाइक मी बिकज आइ लभ यु एण्ड विल लभ यु फरेभर

त्यहि अन्तिम फोन पछी सकिएको थियो हाम्रो सम्बन्ध | उ कहाँ छ? के गर्दै छ? अनि उसले भनेका कुराहरु सत्य थिए वा थिएनन मैले कहिले खोजिन | थाहा थियो उ अस्ट्रेलियामा छ भनेर तर कहिले पनि उसको खोजि गरिन मैले अनि उसका शब्दहरुको बिश्वश्नियतामा पनि कहिले शंका गरिन | किनभने म उसलाई प्रेम गर्थें र बिश्वास पनि | एउटा दृढ बिश्वास थियो उ प्रति कि उसले मलाइ झुटो बोल्दिन, त्यसैले उसका सबै शब्दहरुलाई निशंकोच स्वीकार गरें मैले | अनि हामि बिछोडीयौं | छुटिनुभन्दा अघि न उसले नै कुनै स्पष्टिकरण दिई, न मैले नै केहि कुरा सोधें | आजसम्मका मेरा जन्मदिनहरुको उपहारहरु मध्येकै सबैभन्दा ठुलो अनि अविष्मरणीय उपहार थियो त्यो | हुनत उसले नै भनेकी थिइ कि “म तँलाई तेरो जन्मदिनको अवसरमा निकै ठुलो गिफ्ट दिनेछु” र दिई पनि |

करिब २ बजेसम्म उसैको फोन वा मेसेजको प्रतीक्षा बसेको म करिब २ बजेतिर उसको फोन आएपछी निकै भक्कानिएको थिएँ | मेरा सपनाहरुमा तुषारापात भएको थियो उसको त्यो फोनले | जीवन जिउने रहरहरु अनायास निमोठिएका थिए | काठमाडौँको मैतिदेवीमा बस्थें म त्यतिबेला | रत्नराज्य क्याम्पसमा स्नातक दोश्रो वर्षमा पढ्दै थिएँ | त्यो रात बाहिरतिर हल्लाखल्ला चलिरहेथ्यो रातभरी, गड्याँगगुडुंग आवाज आइरहेथ्यो कतै टाढा, लाग्दैथ्यो आकाश खस्दैछ अब, केहीछिनमा नै यहीं काठमाडौँमा | एम्बुलेन्सको आवाज, पुलिसको साइरन अनि नानाथरि गल्यांगमल्यांग आवाजहरु | लागिरहेथ्यो म संगसंगै पुरै शहर दुर्घटित भएको छ | यसो घडी हेरें भर्खर साढे तीन बजेको थियो बिहानको | उठेर १ गिलास पानि खाएँ | एउटा चुरोट सल्काएं र सिरान पट्टिको झ्याल खोलें | पल्लो घरको बरन्डातिरबाट एउटा बिरालो झ्वाम्म हाम फाल्यो, तल करेसाबारितिर | त्यतिनै बेला झ्याप्प बत्ति गयो | कोठामा मैनबत्ती पनि थिएन | अँध्यारोमा लमतन्न पसारिएको आकाश हेर्दै चुरोट पिउँदै थिएँ | आकाशमा उही धमिला-धमिला ताराहरु, निराशाका प्रतिकहरु बग्रेल्ती सल्बलाइरहेका थिए | अघि भर्खर हामफालेको बिरालो हुनुपर्छ सायद, तल रुँदै थियो | आवाज आइरहेथ्यो त्यो बिरालो रुँदै यताउता गरिरहेको | भयङ्कर अपशकुनको संकेत थियो त्यो | रातभरिको त्यो नानाथरी आवाज, एम्बुलेन्स को साइरन अनि पुलिसका गाडीहरुको ओहोरदोहोर ले यस्तो लाग्दैथ्यो कि बिद्रोहीहरुले शहरमा धावा बोलेछन | बिहानै उठें | उठें के भन्नु? उठ्नलाई त सुत्नु पनि पर्थ्यो | जे होस् बिहान सबेरै निस्किएँ कोठाबाट | कोठाबाट निस्कने बेला एउटा बिरालोले बाटो काट्यो | यो त्यहि बिरालो हुनुपर्छ जो रातभर रुँदै यताउता गर्दै थियो | मनमा शंका पलायो केहि नराम्रो पो हुने हो कि? त्यो भन्दा नराम्रो के नै पो हुनु थियो र? घरको च्यानल गेटमै उभिएर एउटा चुरोट सल्काएँ, अनि ‘आ जे सुकै होस्’ भनेर वास्तै नगरी निस्किएँ | मन भारि भएको थियो | स्तुतीप्रती गहिरो घृणा थियो मनभरी अनि कहिले नमेटिने चोट लागेको थियो सायद, निकै गहिरोसँग छातीभित्र |

संयोग हुनुपर्छ सायद, मान्छे जब आफु निरास हुन्छ तब पुरै संसार निरास देख्छ | त्यो दिन म वरिपरिको पुरै संसार निरास थियो | पसलहरु बन्द थिए | भुस्याहा कुकुरहरुको राज थियो सडकमा, सर्बत्र | भर्खर आ-आफ्नो बासस्थानबाट निस्किएका धेरैजसो कुकुरहरु ढाड तन्काउँदै थिए, बिच सडकमा उभिएर | कहिंकतै मानिसहरु २-४ जनाको झुण्डमा भेला भएर गफ गरिरहेका पनि भेटिन्थे | सबैको मुहारमा एकै खालको त्रास व्याप्त थियो | अन्यौल मानसिकतामा रुमल्लिएका जस्ता देखिन्थे सबैजना | बाटोमा कुनै सवारीहरु गुडिरहेका थिएनन | हुनसक्छ कसैले बन्दको घोषणा गरेको थियो | मनमा डर लागेर आयो कतै शहरमा कर्फ्यु त लागेको छैन? होइन, कर्फ्यु लागेको शहर यस्तो हुँदैन | कम्तिमा बाटोमा सुरक्षाकर्मीहरुको उपस्थिति हुनुपर्थ्यो कर्फ्यु लागेको शहरमा | तर यो शहर त शुन्य थियो | मशानघाट जस्तो | कुनै आंधी अगाडिको शुन्यताको आभाष भैरहेको थियो | तर मलाइ के मतलब थियो र ति सबै कुरासँग? मान्छेलाई सबैभन्दा ठुलो आफ्नै पीडा हुँदोरहेछ | म रोइरहेथे भित्रभित्रै र मेरो यो रुवाइसंग तिनीहरु कसैलाई मतलब थिएन र हुनु आवश्यक पनि थिएन | म कहाँ हिंडिरहेको थिएँ ? मेरो गन्तब्य कहाँ थियो अनि म के का लागि हिंडिरहेको थिएँ ? म आफु पुरै बेखबर थिएँ आफ्नै अवस्थासंग | मैतिदेविबाट निस्केर हिड्न सुरु गरेको म गल्लि गल्लि हिंड्दै गर्दा कहाँ पुगेछु कुन्नि पत्तै पाइन ? कहिले नपुगेको ठाउँमा पुगेछु क्यारे, केहि थिएन चिनेको जस्तो अनि कोहि पनि | शहर पुरै नि:शब्द थियो | म हातमा बलिरहेको चुरोट लिएर घरि घरि त्यहि चुरोटको लामो सर्को तान्दै हिंडिरहेको थिएँ | दोबाटो आइपुग्यो | अलमलिएँ, दायाँ जानु वा बायाँ? कुन बाटो कता पुग्छ केहि थाहा थिएन | त्यहि बेला एउटा मानिस म भएकै ठाउँ तिर आउँदै गरेको देखें | सोधें- “दाइ यो बाटो कहाँ जान्छ?” रातभर जांड धोकेर भर्खर उठेर हिंडेको जस्तै देखिने उसले भन्यो सिधै जाउ, काट्टो खान, शहरमा तिम्रो भगवान मरेको छ…” 

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>