…अनि म बेश्या बनें (भाग-२)

Prostitute

अनायास उ उठेर गएपछिका धेरै दिनहरु लगातार गइरहें म त्यो क्याफेमा | हुनत उ आउनु अनि जानु दुवै आकस्मिक नै हुन्थे तैपनि हरेक साँझ म उसलाई कुरिरहन्थें | कहीं कतै आश लागिरहन्थ्यो हरेक पटक कि आज उ आउँछे, अवस्य | हरेक साँझ ढिलो सम्म त्यहि क्याफेमा बसेर चुरोट पिउँदै कफी र किताबमा हराउन झनै अभ्यस्त हुन थालें म | रमाउँदै जान थालें त्यहि दैनिकीमा | अनि त्यो क्याफे जोडिन आइपुग्यो मेरो दैनिकीमा सहज रुपमा |

भर्खर पढ्ने काम केहि समयको लागी सकाएको म अनि शहरमा भनेजति काम पनि नभेटाएको अवस्था | त्यो क्याफे मेरो लागि बरदान साबित भएको थियो | बिहानै उठेर काममा गयो, फर्केर कोठामा आयो, फ्रेश भयो अनि एउटा किताब र ल्यापटप बोकेर लाग्यो त्यहि क्याफे तिर | कम्तिमा दिनको एक देखि बढीमा तिन चार घण्टा सम्म बिताउन थालेको थिएँ मैले त्यहाँ | त्यहीं नै बसेर धेरै प्रयास गरेको थिएँ मैले कोहिनूर को बारेमा जानकारी बटुल्ने | फेसबुक, ट्विटर देखि याहू, हाई-फाइभ र अन्य कयौं सोसल मिडिया र नेटवर्किंग साइटहरु चाहारेको थिएँ उसको खोजीमा | तर अहँ, उसको फोटो फेक थियो या म संग भनिएको नाम, कतै पनि “कोहिनुर” नामको फोटोमा मैले देखेकी, मैले भेटेकी कोहिनूरको फोटो थिएन | अचम्म लाग्थ्यो सोचेर कि एउटी सामान्य युबती जसलाई म राम्रो संग चिन्दिन तर उसैको प्रतिक्षामा हुन्छु हरेक दिन | सम्भवतः प्रेम यसै गरि हुन्थ्यो सबैको अनि म पनि त्यहि प्रेममा फसेको थिएँ सायद, कोहिनूर संग | ‘अहँ होइन म प्रेममा पर्नै सक्दिन कसैसंग पनि’ सोच्थें कहिलेकाहीं, अनि फेरी पटक पटक आफ्नै मनले ‘तँ प्रेममा परेको छैनस अझैसम्म’ भनेर ढाडस दिइरहन्थ्यो पनि | भनिन्छ नि “अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ” हो म पनि तर्सिन्थे त्यसैगरी तर बिजुलिसंग होइन, युबतीहरूको निकटता सँग | तर फेरी कोहिनूर? अनि उसको निकटता? किन एक्लो महसुस गर्दै थिएँ उ बिना? आखिर उसलाई राम्रोसंग चिनेको पनि त थिइन, न फेरी कुनै सामिप्यता नै थियो हामीबीच तरपनि त्यो भिडमा उसलाई खोजिरहनुको उदेश्य? उ आउँछे कि भन्ने आशमा त्यो क्याफे कुरिरहनुको औचित्य? सायद मेरो कुराई औचित्यहीन थियो र खोजि उदेश्यबिहिन |

र फेरी एकसाँझ उ आई | पहिले जस्तै अनायास अनि टाढैबाट “हेल्लो” भनेर हात हल्लाउँदै | एक्कासी उसलाई देखेर अचम्मित भएको थिएँ म | होइन, आतिएको थिएँ सायद | किनकिन त्यो साँझ त्यति रमाइलो लागेन मलाइ उसको साथ, सायद उसलाई भेट्नुभन्दा उ आउँछे भनेर कुर्नुमा नै धेरै मजा थियो | अनि त्यहि मजा लिन बानि परेको म | त्यसैले हुनसक्छ त्यो साँझ उसको साथ पनि अलिक खल्लो खल्लो लागेको मलाइ | तरपनि औपचारिकताको कुरा थियो, म रमेको जस्तै गरेको थिएँ उसको साथमा |

-    “किन आज अलि मुड ठिक छैन जस्तो छ नि? बिरामी त पर्नुभएन कतै?” उसले कतिन मेरो स्वास्थ्यको ख्याल राख्ने जस्तै गरेर भनि | “तैंले बिरामी जस्तै बनाएर गइस अनि फेरी बिरामी त परिनस भनेर चेप्रा पार्छेस?” भनेर भन्न मन थियो तर भित्रभित्र दबाएँ र भनें;

-    “होइन, ठिक छु | आज अलि बढी थाकेको छु त्यसैले होला” मैले उसको आँखामा छारो हालें |

-    “एक कप स्ट्रोंग कफी खानुस न, थकाइ गायब” दायाँ हातको बुढी औंला र माहिली औंला जोडेर प्याट्ट पड्काउँदै भनेकी थिइ उसले | त्यो दिन निकै चन्चले देखिएकी थिई उ केटाकेटी जस्तै, अनि मायालु पनि, च्याप्प समातेर म्वाइँ खाइदिउँ जस्ती |

-    “तपाईं सधैं आउनुहुन्छ है यहाँ?” उसले सोधी

-    “मिलेसम्म” मैले छोटो जवाफ दिएँ |

-    “तपाइंलाई थाहा छ? म आज तपाइंलाई नै भेट्छु कि भनेर छिरेकी यहाँ?” उसले भनि | “तँ आज मात्र छिरिस भेट्छु कि भनेर म दिनहुँ कुर्दैछु तँलाई, त्यहि आशमा” भन्नै लागेको थिएँ, रोकिएँ | अनि भनें;

-    “धन्यबाद, अनि किन नि त्यस्तो भेट्न मन लागेको? केहि बिशेष?” मैले प्रश्न गरें |

-    “होइन, त्यतिकै | यु नो व्हाट, रियल्ली आइ लाइक्ड योर कम्पनि, द्याट्स व्हाइ” उसले मलाइ खोज्दै त्यो क्याफे पस्नुको कारण बताई |

“एक्स्युज मी ! क्यान आइ ह्याब अ स्ट्रोंग कफी एण्ड सम सिगरेटस?” उसले नजिकैको टेबलमा रहेको वेटरलाई अर्डर गरि अनि म तिर फर्केर भनि “तपाईं के लिने? आज म पे गर्छु”

-    “एज यु विस ! तपाइंले पे गर्ने तपाइंले नै अर्डर गर्नुस तर सिगरेट नछुटाउनुहोला” मैले भने

-    “आई नो द्याट एण्ड डन्ट वरी, आइ विल प्रोभाइड यु” उसले अंग्रेजीमा नै भनि | उसको हाउभाउ हेर्दा लाग्थ्यो कि उ निकै ट्यालेन्ट केटि हो | क्षमतावान अनि आफ्नै एउटा उदेश्य बोकेकी, दृढसंकल्पित |

-    “क्यान यु प्लिज गिभ मी योर नम्बर?” वेटरले भर्खरै ल्याएर टेबलमा राखिदिएको बट्टाबाट एक खिल्ली चुरोट सल्काउँदै मैले भनें | उ वेटर संगै बोलिरहेकी थिइ, सायद मेरो लागि अर्डर गर्दै थिई |

-    “सरि, व्हाट डिड यु से?” वेटर जाने बित्तिकै म तिर फर्केर सोधी उसले

-    “तपाईंको नम्बर माग्दै थिएँ” मैले भनें |

-    “ओह, स्योर, क्यान यु प्लिज नोट इट, मेरो फोन अफ छ आज अनि तपाईंको पनि लेखिदिनुहोला” उसले भनि लगत्तै आफ्नो नम्बर भन्न थालि “०४१६५०****” मैले उसको नम्बर नोट गरें आफ्नो डायरीमा अनि आफ्नो पनि लेखेर दिएँ एउटा सानो कागजको टुक्रामा |

-    “म एउटा कुरा भनुँ?” मैले उसको नम्बर टिप्दै गर्दा नजिकैको चुरोटको बट्टाबाट एउटा चुरोट निकालेर सल्काउँदै भनि |

-    “एउटा किन १० वटा भन्नुस” मैले हाँस्दै भनें |

-    “नाइँ म एउटा मात्र भन्छु त्यति मात्र मान्नुस अहिलेलाई” उसले भनि

-    “पहिला के कुरा हो भन्नु पनि त पर्यो नि?” मैले प्रश्न गरें

-    “तपाईं मलाइ तिमि भन्नुस” उसले भनि

-    “तर…?” म अक्मकिएँ |

-    “तर सर होइन, खुरुक्क तिमि भन्ने अब मलाइ” उसले आफ्नै मान्छे जस्तो गरेर हक जताई |

-    “ओके” मैले यतिमात्र भनें | तरपनि यस्तो लाग्दै थियो कि म अझै पनि खुल्न सकिरहेको थिइन त्यो दिन | “आज कतै जाउँ न हिड्दै, सधैं यहि क्याफेमा मात्रै कति बसिरहनु?” उसले मेरो उदासीलाई बुझेर हो वा रमाइलो गर्ने मन भएर हो अनायास भनेकी थिई अनि हामि निस्केका थियौं त्यो क्याफेबाट |

किनकिन मैले हरेक भेटमा झन झन राम्री पाउँदै गएको थिएँ उसलाई | त्यो दिन पनि उसले लगाएको कपडा, आहा कति सुहाएको उसलाई? म भित्रभित्रै दिग्भ्रमित भैरहेको थिएँ सायद | उसैलाई पो मन पराउन थालेको जस्तो, उसैसंग बिहे गरेर घरजम नै गरिहालुँ कि जस्तो | सेतो बुट्टेदार कुर्तामा सजिएकी उ त्यो दिन पक्का नेपालि देखिएकी थिई | सफा, राम्री अनि निष्कलंकित अनुहार | भनिहालें नि च्याप्प समातेर म्वाइँ खाइदिउँ जस्ती |

हिड्दै गर्दा फेरी त्यहि समय याद आयो | एउटा त्यस्तो समय जुन जीवनको अनन्त कालसम्म रहनेछ ताजै | धेरैजसो मान्छेको जीवनमा दुइपटक आउँछ रे त्यस्तो समय | एउटा आफ्नै बालापन अनि अर्को पहिलोपटक सन्तान जन्मिन्दाको क्षण हो रे, सन्तानको बालापन होला सायद | तर म भाग्यमानि कि अभागी? मेरो जीवनमा दोश्रोपटक त आइसक्यो त्यस्तो समय, तनाबपूर्ण अनि अनन्तकालसम्म रहिरहने सम्झनामा ताजै भएर | सन्तान जन्मिने बेलाको तेस्रो होला सायद अब |

एउटा समय थियो, जबर्दस्त खालको अनि मनमा आँट पनि, कि मैले चाहें भने संसार जित्नसक्छु | तर आफैंले चाहेको जस्तो कहाँ हुँदोरहेछ र जिन्दगी? बिस्तारै बास्तबिकता छर्लंग हुँदै गयो अनि भत्किँदै गयो सपनाको संसार पनि | समय संगै ब्याबहारिकताले पनि पेल्दै जाँदा आफ्ना सबै-सबै सपनाहरु आफ्नै अगाडी लमतन्न पसारिएको बेला तिनै सपनाहरुलाई कुल्चिदै हिड्नु सोचेभन्दा निकै दर्दनाक हुँदोरहेछ | धेरै, धेरैपटक रोएको छु छु हिजोआज म जीवनमा | तर पहिलोपटक? म अझै सम्झन्छु त्यो साँझ, सायद मेरो आफ्नै जन्मदिन थियो र म उसैको फोन वा मेसेजको प्रतिक्षामा थिएँ | राति २ बजे मात्र फोन गरेकी थिइ उसले अनि भनेकी थिई “तेरो जन्मदिनमा तँलाई ठुलो गिफ्ट दिंदैछु” म खुसीले झन्डै पागल भएको थिएँ त्यो क्षण | तर उसको स्वर रुँदा रुँदा थाकेजस्तो थियो, मलिनो |

-    “के भो?” मैले खुसि हुँदै सोधेथें अनि भनेथें “छिटो भन न के हो त्यो गिफ्ट?” लामोसमय सम्म बोलिन उ अनि बिस्तारै सुँक्कसुँक्क गर्दै भनेकी थिइ उसले;

-    “फरगिभ मी प्लिज ! आइ डन्ट वान्ट टु किप यु इन डार्क | प्लिज फरगिभ मी ” निकै भक्कानिएर रोएकी थिई उ | अगाडी भनेकी थिई “आइ लभ यु एण्ड विल लभ यु फरेभर, यु विल बि प्रिसियस फर मी” म उसको कुरा सुनेर अवाक बनेको थिएँ | मैले बोल्ने शब्दहरु नै भेटिरहेको थिईन | मेरो शब्दकोश रित्तिएको थियो त्यो बेला |

-    “के भो पहिले भन त सहि?” मैले रिसाएको जस्तो गरेर भनेथें |

-    “आइ नो यु विल हेट मी, बट आइ कुड्नट कीप माइ भर्जिनिटी फर यु, आइ एम नो मोर अ भर्जिन, एण्ड आइ डन्ट वान्ट यु टु म्यारी अ क्यारेक्टरलेस गर्ल लाइक मी बिकज आइ लभ यु एण्ड विल लभ यु फरेभर”

यति भन्नासाथ उसको फोन काटिएको थियो र संगै हाम्रो सम्बन्ध पनि | त्यसपछी पनि लाख प्रयास गरेको थिएँ मैले उ सँग सम्पर्क गर्ने तर सबै असफल | त्यो दिन मैले अनुभूत गरेको थिएँ पहिलोपटक कि दुरी संगै सम्बन्धहरु पनि टाढिदै जाँदारहेछन, चुडीदै जाँदारहेछन विश्वासका त्यान्द्राहरु र सकिंदा रहेछन सम्बन्धहरु अनायास, नचाहँदा नचाहँदै | र त्यसपछि हामि बिछोडीयौं अनि भेटिएनौं कहिलेपनि | उसले मलाई भनेका ती शब्दहरु पनि रहस्यकै गर्भमा रहे | ति शब्दहरु साँचो थियो या झुट त्यो उसैलाई थाहा होला तर मैले त्यसैलाई साँचो मानेँ किनभने म उसलाई बिश्वास गर्थें अनि मायाँ पनि | त्यो रात म सायद पहिलोपटक रोएको थिएँ | रुन त म धेरै रोएँ त्यसपछी तर त्यो भन्दा अगाडी सायद सानैमा रोएँ हुँला आमाको दुध खान नपाउँदा, चकचक गरेर हैरान पारेको बेला बाबाले हात बाँधेर पिटेको बेला अनि कतै बजार तिर जाँदा आफुले किनिदेउ भनेर झगडा गरेको कुरा बाबाआमाले नाकिनिदिएको बेला | तर त्यो दिन म ज्यादै भक्कानिएर रोएको थिएँ | भित्रै देखि मन हुँडलीएर आएको थियो अनि आँशुको मूल फुटेको थियो नयनहरुमा | कसैले भनेको सुनेथें “कसम खानु भनेकै तोड्नकै लागि हो” | हो रहेछ क्यारे, त्यसपछी मैले आफैंले खाएका धेरै कसम तोडें, बाचाहरु त कति कति? कहिलेकाहीं आफ्नै सम्बन्धहरुको बारेमा सोच्दा लाग्थ्यो कि म मात्र सम्बन्ध जोड्न जन्मेको हुँ, जोडिएका सम्बन्धरु दिगो बनाएर टिकाइराख्न होइन |

-    “आज किन तपाईंको अनुहार फ्रेश देखिएको छैन?” हिड्दै गर्दा अचानक मेरो सोचाइको तरङ्गलाई बिथोलेर बाटोमा भेटिएको सानो प्लास्टिकको भाँडोलाई दायाँ खुट्टाले बल जस्तै गरि हिर्काउँदै सोधेकी थिई उसले |

-    “खोइ? किन किन रमाइलो लागिराको छैन आजभोली मलाइ?” मैले अब सहज हुने प्रयास गर्दै भनेथें |

-    “के भो? आजभोली रमाइलो लाग्दैन रे?” हाँस्दै भन्दै थिइ उसले “अनि कहिले काहीं त निकै एक्लो पनि त फिल हुँदो हो?” ठ्याक्कै मनको कुरा बुझेजस्तै गरेर भनेकी थिइ उसले |

-    “हुन्छ नि कहिलेकाहीं” मैले हाँस्दै भनेको थिएँ तर मन अमिलिएको उसलाई के थाहा?

-    “ए ए, ल हिड्नुस त्यसो भए उ त्यो पुल तिर जाउँ” हिड्दै गरेको बाटो छाडेर दायाँ लाग्नुपर्ने लामो पुलतिर इशारा गर्दै उसले भनेकी थिइ

-    “किन?” मैले सोधेको थिएँ उ सँग |

-    “किन नि अब? म देखाइदिन्छु नि हजुरलाई हाम्फाल्ने ठाउँ त्यहाँ पुगेपछि” भन्दै खित्का छाडेर हाँसेकी थिई उ | उ अर्थात कोहिनूर…

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>