मृत्यु बिक्रीमा छ (भाग-६)

Deathonsale

त्यो रात फेरी रोएँ म कोहि अरुको लागि, आफ्नो लागि रुनु त नियति बनिसकेको थियो मेरो तर अरुको लागि रोइदिनु पर्ने? त्यो पनि बाध्य भएर | रुँदा रुँदा कतिबेला निदाएछु कुन्नि? भोलिपल्ट बिहानै मोबाइलमा अलार्म बज्दा पो थाहा भो, म भुइंमा नै सुतेको रहेछु | उठेर घडी हेरें, भर्खर बजेको अलार्म मेरो उठ्ने समयको नभएर अर्कै रहेछ, मात्र बिहानको ५ बजेको थियो, मैले के नै पो लछारपाटो लगाउनु थियो र त्यति बिहानै उठेर? मोबाइलको स्क्रीनमा केहि डिस्प्ले हुँदै थियो, नियालेर हेरें, लेखिएको थियो “माइ फर्स्ट एन्निभर्सरी विथ स्मारिका” | फेरी एकपटक हिजो साँझ रिसिभ गरेको मेसेज पढें “प्लिज फर्गिभ मी एण्ड फर्गेट, आइ वन्ट बी एबल टु बी विथ यु फरेभर” र फेरी आफैंले सेभ गरेको अलर्ट हेरें “फर्स्ट एन्निभर्सरी” अन्यौलमा परें म, मेरो मेरो लागि यो खुसीको खबर थियो वा दुखको? खुसि मनाउनु वा दुख?

धेरै सोचें त्यो बिहान, के कारण हुन सक्थ्यो स्मारिकाले त्यसरी हठात मेरो साथ छोड्नुको? कि उ बाध्य पारिएकी थिइ? उसलाई कुनै दबाब पो थियो कि? यस्तै यस्तै सोचेर बिस्तारामा पल्टिरहेको थिएँ, सिंहदरबार भित्र छ पटक सम्म समयसूचक घण्टि बज्यो | उठेर बाहिर निस्किएँ, घट्टेकुलो चोक पुगेर चुरोट किनें, एउटा निकालेर सल्काएं र मैतीदेवीको बाटो हुँदै अगाडी बढें | कहाँ जाने कुनै लक्ष्य थिएन, न कुनै गन्तब्य नै निर्धारित थियो | आफैंमा एउटा अस्पष्ट जीवन बाँचिरहेको म र मेरो निरुदेश्य हिंडाइ… कतिन्जेल पो हिंड्न सकिन्थ्यो होला र बेहोसिमा? अघि भर्खर रातो पुल नजिकै आइपुग्दा सल्काएको तेस्रो चुरोट सल्किँदै आएर हातका औंलाहरु पोलेपछि पो झसङ्ग भएँ | हातबाट एक्कासी चुरोटको ठुटो फालेर सहज भैसकेपछि थाहा पाएँ, म गौशाला पुगीसकेको रहेछु, सिधै पशुपति मन्दिर तिर लागें | बिहानको समय, मन्दिर वरपर शंख र घन्टको आवाज गुन्जिरहेको थियो | चराचुरुंगीहरु भर्खर आ-आफ्ना गुडबाट निस्केर संसार चिहाइरहेका जस्ता देखिन्थे | जताततै बिहानको घामको झुल्कोले रापिलो लालिमता छरेको थियो तर मेरो मनभित्र भने निकै ठुलो खैलाबैला मच्चिएको थियो, भुमरी रिंगीरहेको थियो सोचाइहरुको र ज्वारभाटा उठिरहेको थियो असैह्य पीडाहरुको | सरासर मन्दिरमा पसें, शिव लिंगलाई बाहिरै बाट दर्शन गरें, तीनपटक सम्म हातले आफ्नै छाती र निधार छोइरहें | त्यतिबेला मनमनै कामना गरिरहेको थिएँ “भगवान, स्मारिकालाई केहि नहोस, मैले जस्तै जीवन बाँच्नु नपरोस उसले” | बाहिर निस्किसकेपछि पो थाहा पाएँ सबै उसको लागि कामना गर्दैगर्दा आफनै लागि कामना गर्न पो बिर्सेछु |

कहाँ जाने अब फेरी कुनै गन्तब्य थिएन मेरो, न त कहीं समयमै पुग्नुपर्ने हतारो पनि? फर्किएर मन्दिर छिरें, बाग्मती नदि पार गरेर अलि माथि गएँ, एकपटक फेरी फर्किएर मन्दिर हेरें अनि लागें माथि बनकालितिर | सबैभन्दा माथिको सिंढीमा पुगेर थुचुक्क बसें, एउटा चुरोट निकालेर सल्काएं, र फेरी सोच्न थालें, स्मारिकाको बारेमा | तल पशुपतितिर सब बाहनको साइरन बजिरहेको थियो, मोबाइलको याद आयो, खल्तीबाट मोबाइल निकालें स्मारिकाको मेसेज पढें फेरी एकपटक र उसकै नम्बर डायल गरें “माफ गर्नुहोला, तपाइंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ” उताबाट आवाज आइरह्यो र म अवाक सुनिरहें |

बिहानभरि साथीहरुले फोन गरिरहे कोठाबाट, न फोन काटें कसैको न कसैसंग कुरा नै गरें फोन उठाएर | हरेक पटक घन्टी बज्नेबित्तिकै साइलेन्ट गराईदिन्थें फोन | कर्रिब ११ बजेतिर अफिसबाट फोन आयो, बल्ल सम्झना भयो कि मेरो अफिस त आजभोली दिउँसो पो त? “सर हजुर कहाँ?’ फ्रन्ट अफिस डिपार्टमेन्ट इन्चार्ज आरति भन्दै थिइ | बहाना बनाएँ ‘बिरामी भाको छु, अस्पताल आएको फोन गर्ने चान्स नै मिलेन” | “होइन सर, इट्स ओके, टेक योर टाइम टु गेट वेल, आउनुभएन र मात्र के रहेछ भनेर फोन गरेको, म सरलाई खबर गरिदिन्छु नि” भनेर फोन राखी | उसले भनेको त्यो सर मेरो हाकिम थियो | अब अलि आनन्द भयो, अफिस पनि नगए भैगो, कहाँ जाने भनेर सोच्दै थिएँ झल्याँस्स याद आयो “ओशो तपोबन” जहाँ स्मारिका र म दर्जनौं पटक पुगेका थियौं, मिठा मिठा कुरा गरेका थियौं मायाप्रेमका, पिरतीका अनि जिन्दगीका, सबै रमाइला र सायद झुटा पनि |

बनकालीबाट झरेर पशुपति मन्दिर बाहिर निस्केको मात्र थिएँ, मोबाइल बज्यो निकालेर हेरें, मेसेज डेलिभरी नोटिफिकेसन थियो | हिजो साँझ स्मारिका लाइ पठाएको | तुरुन्तै उसको नम्बर डायल गरें, घन्टी गयो, लगातार, तर फोन उठेन | फेरी डायल गरें, घन्टी गयो, लगातार तेस्रो घन्टीपछी उताबाट आवाज आयो “तपाइंले डायल गर्नुभएको नम्बर अहिले ब्यस्त छ” मतलब फोन काटियो | “प्लिज रिसिभ माइ फोन, आइ वान्ट टु टक टु यु, प्लीज !!!” मैले मेसेज गरें | तुरुन्त रिप्लाई आयो “देयर इज नो पोइन्ट इन टकिंग अबाउट द सेम टपिक, आइ अलरेडी टोल्ड यु टु फर्गेट मी एण्ड फर्गिभ, प्लिज लिभ मी अलोन, आइ डोन्ट वान्ट टु टक टु यु !!!” उसको मेसेज पढिसकेपछि रिप्लाई नगरी फेरी एकपटक उसको नम्बर डायल गरें, दोश्रो घन्टीपछी फोन उठ्यो तर उताबाट बोल्नेको आवाज अर्कै थियो | “स्मारिका खोइ?” मैले सोध्दै थिएँ “प्लिज अब यो नम्बरमा फोन गर्न छाडिदिनुस” यतिमात्र सुनें मैले, लगत्तै फोन काटियो |

फर्केर कोठामा गएँ, साथीहरु कोहि थिएनन, खाना खाने मन थिएन | तल पसलमा गएँ, एउटा सिग्नेचर फुल बोतल लिएर आएँ, संगै एक प्याकेट चुरोट पनि | कोठामा चाउचाउ रहेछ त्यहि काँचो चाउचाउ प्लेटमा राखें | एउटा गिलास र पानीको बोतल लिएर आएँ किचनबाट अनि सिग्नेचर खोलेर गिलासमा आधा सिग्नेचर र आधा पानि मिलाएँ, एउटा चुरोट सल्काएँ, ल्यापटप खोलें र इन्टरनेट कनेक्ट गरि स्मारिकालाई लामो मेसेज लेखें फेसबुकमा;

प्रिय स्मारिका,

म भन्दिन तिमि सुखी छौ होला, खुसि छौ होला? चाहना बिना नै संकेत टुट्दा कसलाई पो खुसि लाग्ला र? म पनि त खुसि छैन र मलाइ गुनासो पनि छैन तिमीसंग | सोचेको थिएँ, मलाइ माया गर्छौ तिमीले, आफ्नो ठान्छौ हरेक पल र म संग बिताउनेछौ तिम्रो पुरै जिन्दगी | भ्रममा रहेछु म वा भनौं सधैं माया गर्छु भनेर भ्रममा राखेको रहेछौ तिमीले मलाइ | तर आज मेरो भ्रम टुटेको छ, बास्तबिकता मेरो आफ्नै अगाडी छ, र त म फेरी रुँदै छु एकपटक | हुनत म भ्रम पालेर त्यसैमा रमाउन बानि परेको मान्छे, मात्र एउटा भ्रम तोड्यौ त के भो र? अरु हजार भ्रम पालेर जिउने प्रयास गर्नेछु |

स्मारिका, जिन्दगीमा दुर्घटनाहरु हुन्छन धेरै धेरै, तर सबै अन्जानमै | कसैले दुर्घटना जानीजानी किन पो निम्त्याउँथ्यो होला र? निश्चित हार बोकेर युद्द मैदानमा को पो निस्कन्थ्यो होला र? सम्भवतः हाम्रो सम्बन्ध पनि एउटा दुर्घटना थियो, नमिठो दुर्घटना | तिमीलाई याद छ? एकपटक गोदावरी जाँदा  तिमीले सोधेकी थियौ नि मलाइ “केहि गरि हाम्रो बिहे भएन भने?”

-    “म अर्की केटि खोजेर बिहे गर्छु” मैले जिस्किएर भनेथें अनि तिमि रुन थालेथ्यौ सुँक्क सुँक्क |

त्यो दिन मैले लाख प्रयास गरेर सम्झाएको थिएँ तिमीलाई र मैले बाचा गरेथें तिमीसंग कि “तिमीसंग बिहे भएन भने आजीवन बिहे गर्दिन म” | मलाइ अझै याद छ त्यो दिन रुँदारुँदै मुसुक्क हाँसेकी थियौ तिमि, सायद ढुक्क भएर हुनुपर्छ | र फेरी आजपनि त्यहि कुरा दोहोर्याउंदै छु म “तिमिजस्तो धोकेवाज हुन सक्दिन म | मैले बाचा गरेको छु तिमीसंग कि तिमि बाहेक अरु कसैसंग बिहे गर्दिन, र म त्यो बाचा पुरा गरेरै छाड्नेछु चाहे मैले जस्तो सुकै मूल्य चुकाउनु परोस” तिमीलाई के थाहा, तिमीसंग भेट हुनु भन्दा अगाडी मैले जीवनमा कस्तो कस्तो दुख भोगेको थिएँ? कुन अवस्था बाट गुज्रेर यहाँसम्म आइपुगेको थिएँ? तिमीले देखेको म र मैले भोगेको म मा आकाश जमिनको फरक थियो स्मारिका, आकाश जमिनको फरक थियो |

हो, समस्याहरु सबैका हुन्छन, आफ्ना-आफ्नै | तिम्रा समस्या हरु थिएनन भन्दिन म तर पक्का हो मेरा समस्या हरु कम्तिमा तिम्रा जस्ता थिएनन | हुन त हरेकलाई आफ्नै पीडा ठुलो र आफ्नै समस्या भयङ्कर लाग्दो हो, तर मैले भोगेको पीडा, मैले भोगेको अभाब (?) चाहेर पनि म तिमीलाई सुनाउन सक्दिन थिएँ | त्यसैले त म चुपचाप बसिरहन्थे हरेक बखत, जुन बखत तिमि र मेरो बिच आफ्नो बिगतको कुरा हुन्थ्यो, सुखदुखको कुरा हुन्थ्यो | सुखका कुराहरु र रमाइला कुरा हरु त सजिलै सुनाउन सक्थें तिमीलाई र सुनाएको पनि थिएँ तर मैले भोगेको दुख (?) म कसरि सुनाउन सक्थें र तिमीलाई कि मैले भोकभोकै काठमाडौँ मा धेरै रात काटेको थिएँ | तरकारी किन्ने पैसा नभएर एउटा प्याज पकाउँथे पानीमा नुन हालेर, अनि त्यसैसंग निल्थे भोक, अनि त्यहि बोकले जन्माएका असंख्य पीडा, घृणा र आँशुहरु |

तिमीले जस्तो म देख्यौ नि, त्यो बास्तबिक म नभएर मेरो छायाँ थियो र त्यहि छायाँ संग रमिरहेकी थियौ तिमि | त्यस्तो बेला म कसरि तिम्रो त्यो खुसि खोस्न सक्थें र? बास्तबिकता तिमीलाई बताएर | तर आज मेरो बास्तबिकता नै थाहा नपाइ टाढिन खोज्दैछौ तिमि म संग भने ठिकै छ, म कहिले पनि तिम्रा आँखा सामु नआउँला, तर स्मारिका संसार सानो छ, गोलो छ, भोलिका दिनमा कहीं कतै भेटिन सक्छ, भन्ने डर लाग्छ भने पनि भन है, म तिम्रो लागि आफ्नो बाटै मोड्न तयार छु, यो संसारकै बिकल्प रोज्न तयार छु | सोच त एकफेर, मेरा पनि त थिए होलान नि, अनगिन्ति रहरहरु, सपनाहरु, तिमिजस्तै कुनै सुन्दर केटि खोजेर उसंगै जीवन जिउने, हाँसीखुसी बिताउने जिन्दगी, सधैंभरी, संगसंगै |

भोको पेट, काठमाडौँ को ठाउँ, रित्तो खल्ती र मेरा अनगिन्ति चाहनाहरु(?) मेरोजस्तै जीवन फेरी एकपटक कसैले बाँचोस भन्दिन म | तर एकपटक कसैले कल्पना गरोस, अलिकति सहानुभूति माग्दा पनि कन्जुस्याईं गर्नेहरुको सहर काठमाडौँ, घरेलु द्वन्दले आक्रान्त पारेको देश, महिना पछी आफ्नै घर फर्किदा पनि शंकाको दृष्टिले हेर्नुपर्ने गरि बदलिएको समय र त्यहि समयमा बिना पैसा काठमाडौँमा अलपत्र जिन्दगी बाँचिरहेको म | सोच एकपटक, कल्पना गर आफुलाई मेरो ठाउँमा उभ्याएर, अनिमात्र भेटिनेछ मेरो रुवाइको अर्थ, मेरा आँशुका बुँद-बुँदको मुल्य, जसलाई मैले बेहिसाब बगाएको थिएँ, रातदिन रत्नपार्क भित्र सिमेन्टको चिसो मेचमा बसेर |

हो स्मारिका हो, त्यहि अत्यासलाग्दो जिन्दगीबाट उम्केर यहाँ सम्म आइपुगेको थिएँ म | हिजोआज, म अहिले कमाउछु २-४ हजार, कम्तिमा आफु पालिन सक्छु, आफैले कमाएको पैसाले | मेरा लागि चिया र चुरोट किन्न सक्ने भएको छु | तिमीले भनेको बखत तिम्रा रहरहरु पुरा गराउन सक्ने भएको छु | त्यसको मतलब मैले आफ्नो बिगत बिर्सेको होइन स्मारिका, म कसरि बिर्सन सक्छु र बिना छाता रुझ्दै, भिज्दै सडक नापेका ति दिनहरु? भोको पेट रत्नपार्कको चिसोमा बिताएका रातहरु? हरेक मोडमा घाइते भएर आएको छु म यहाँसम्म, कसरि बिर्सन सक्छु र म ति सपनाहरु, मेरा आमाबाबुले देखेका? चाहनाहरु आफैले पालेका? यहि बिचमा न हो तिमि आएको मेरो जीवनमा, कसरि बुझ्यौ भन्नु तिमीले मलाइ? जे देख्यौ तिमीले त्यो म थिइन, थियो त केवल एउटा भ्रम थियो म आफैंले सृजना गरिदिएको भ्रम कि म सम्पन्न थिएँ, कहिले दुख भोगेको थिइन, त्यसैले त सजिलै आयौ मेरो जीवनमा तिमि र पनि भ्रम नै सहि केहि समय खुसि दिएर गयौ मलाइ | म त्यहि खुसि कल्पना गर्दै जीवन बांच्नेछु स्मारिका | तिमीसंग बिताएका हरेक पल स्मरणीय छन् र तिनै स्मरणीय पलहरुको याद साँचेर बांच्नेछु म त्यति नै सजिलोसँग जति सजिलोसंग छोडेर गयौ तिमीले |

अन्त्यमा, तिम्रा हेरक चाहनाहरु पुरा होउन, तिम्रा पाइलाहरुले सफलताको शिखर चुमुन तर नबिर्स है त्यो बेला पनि म त्यहि शिखरको फेदमा बसेर तालि पिट्दै गरेको हुनेछु, तिम्रो सफलताको खुसीमा म नाच्दै गरेको हुनेछु | र फेरी एकपटक भगवान संग प्रार्थना गर्छु कि- मैले जस्तो जिन्दगी तिमीले कहिले पनि बाँच्नु नपरोस अनि मैले जस्तै अरुको लागि रुन भनेर आँशु साँच्न नपरोस,

जहाँ रहनु, खुसि, सुखिसाथ रहनु,

तिम्रो हुन नसकेको,

सुयोग्य

त्यसपछी कहिले भेट भएन मेरो स्मारिकासंग, जिन्दगीले कोल्टे फेर्यो, समयले धारे हात लगाइदियो पटक पटक, अनि मैले काठमांडू छोडें | हुँदाखाँदाको जागिर छोडें अझै भनौं बाँच्ने रहर पाल्न छोडें | कसैलाई खबर नगरी जुम्ला गएँ, केहि समय यताउता बिताएर करिब १० दिनजति पछी घर फर्किएँ | काठमाडौँमा जागिर खाएर बसेको छोरो एकाएक हराएपछि ठुलै खैलाबैला मच्चिएछ घरतिर, समयपनि त्यस्तै न थियो कतै अपहरणमा पो पर्यो कि भन्ने सोचेछन सबै जनाले, प्रहरीमा खबर गर्ने देखि लिएर रेडियो टि.भी जताततै फुकेछन “मान्छे हराएको खबर” भनेर | आफन्तहरुको घर, डेरा कसरि बाँकी रहन्थ्यो र? सबैकोमा चाहारेछन | बिभिन्न प्रश्न हरुको ओइरो लाग्न थाल्यो म फर्किएपछि, म कसरि बताउन सक्थें र बास्तबिकता सबैलाई कि म बिक्षिप्त भएर हिंडेको थिएँ? सम्बन्ध दिगो हुन नसक्दाको पीडा सहन नसकेर काठमाडौँ छाडेको थिएँ ? त्यो बेला मेरो मौनता असैह्य बनेको थियो सबैको लागि, दाजुभाइ, आफन्त, इष्टमित्रहरु कोहि आफ्ना रहेनन, अरु त अरु आफ्नै सहोदर दाजुभाइहरुले पनि सम्बन्ध तोडे | मेरा लागि केहि सोच्ने अब कोहि बाँकी थियो भने केवल मेरा बाबुआमा थिए र थिएँ सिंगो म |

अन्ततः मैले घर छोडें र पोखरा आइ एक्लो जीवन आफ्नै तालमा जिउन सुरु गरें, कहिले काहीं आमाबुबा आउनुहुन्थ्यो भेट्न र सधैंको गन्थन एउटै हुन्थ्यो उहाँहरुको “बिहे गर, घर सम्हालेर बस” | तर म कसरि भन्न सक्थें कि मैले कसम खाएको छु बिहे नगर्ने, बाचा गरेको छु कसैसंग? लामो समय सम्मको मेरो बिहे गरिदिने प्रयास असफल भएपछी उहाँहरु पनि कराउन छोड्नुभयो अब | मैले आफ्नै तरिकाले जिन्दगि काट्न थालें, सानोतिनो जागिर पाएँ पोखरामा र त्यसैको भरमा जिन्दगि डोर्याउन थालें | सायद म जति धेरै कोहि रोएन होला त्यसपछी | एक्लै हुनुको पीडा, बिग्रेको सम्बन्धका कारण बिक्षिप्त बनेको मानसिकता अनि फेरी पटक-पटक समयले हाल्ने भाँजो, जिउने रहरहरुको माझ | मान्छेलाई जब जब असंख्य पीडाहरुले थिच्छन, तब मानिसले रुन बाहेक के नै पो गर्न सक्दो रहेछ र? हो, म पनि रोएको छु धेरैपटक, ढोका थुनेर रोएको छु, सिरकले मुख छोपेर रोएको छु, बाथरुम मा पसेर आवाज दबाएर त कति कति? सायद रुनु पनि आफैमा एउटा जिन्दगि बाँच्नु थियो मेरो लागि | हरेक रुवाइपछी कमिजको बाहुलाले आँशु पुछेर फिस्स हाँसो हाँस्नु मेरो दैनिकी बनेको थियो | डर लाग्थ्यो कहिलेकाहीं, कि मैले हाँस्न नबिर्सिउ, त्यसैले रुँदा रुँदै चटक्क छोडेर हाँसीदिन्थें धेरैजसो, जसले मलाइ मनमनै ढुक्क बनाउँथ्यो कि मैले हाँस्न बिर्सेको छैन | हाँस्नु मेरो रहर थिएन, बाध्यता थियो र यौटा भ्रम थियो मैले हाँस्न बिर्सेको छैन भनेर आफैलाई आश्वस्त पार्ने | मैले रुदै गर्दा सोच्थें, कतै आफ्नो भागमा परेको अलिकति खुसि पनि बाँच्न जान्दिन कि? मेरो डर, सबैभन्दा ठुलो, जिन्दगीको, कि कतै हाँस्न नबिर्सिउ, आफ्नो भागको खुसि बाँच्न नबिर्सिउ |

मेरा हरेक रहर र चाहना हरुका बिच पर्खाल भनेर ठडिएको थियो मेरो अभाब अनि सपना, मेरा आमाबाबुका र मेरा आफन्तहरुका | नचाहेरै धेरैपटक म आफैंले आफ्ना रहरहरुको बलात्कार गरेको थिएँ, जिउँदै जलाइदिएको थिएँ आमाबाबुका सपनाहरु र फेरी पनि म ज्युँदो थिएँ | मर्ने प्रयास पनि नगरेको होइन पटक पटक, तर मेरा तिनै प्रयासहरुमा पनि भाँजो हालेको थियो जिन्दगीले | बाँच्ने रहर थियो तर अभाब तगारो बनेर आइदिन्थ्यो पटक पटक, बाँच्ने रहरहरुको माझ | म, म हुन नसक्नुको पीडाले घोचिरहन्थ्यो हरेक बखत | आफैंले आफ्नो अस्तित्व खोज्थें, आफु हुनुको अर्थ लगाउने प्रयास गर्थें तर हरेक प्रयासहरु असफल भैदिन्थे र मैले धिक्कार्थें आफैंलाई, म जस्तो छोरोलाई जन्मदिने बाबुआमालाई अनि मलाइ यति धेरै हेलाँ गरेर पनि बाँचिरहन बाध्य पार्ने मेरो समाजलाई र सबैभन्दा धेरै, भगवानलाई….

मलाइ अझै धेरै बाँच्ने रहर बाँकी नै थियो, सपना हरु पुरा गर्नु थियो केहि आफ्ना अनि केहि आफ्ना भनाउदाहरुका, त्यसैले मृत्यु देखि सधैं डर लाग्थ्यो, भयङ्कर | कतै बाटोमा कसैको शब घाट लैजाँदै गरेको देखें भनेपनि आङ सिरिंग हुन्थ्यो | लुक्थे कतै र कामना गर्थें, उसलाई लैजाने यमराजले मलाइ नदेखोस | कहिले काहीं त यस्तो लाग्थ्यो मैले बाँचेको आधा जिन्दगी अर्कैको लागि बांचिदिएको थिएँ | त्यसैले अब मैले आफ्नो लागि बाँच्नु पर्छ, मेरा लक्ष्यहरु पहिल्याउनु पर्छ र साकार पार्नु पर्छ सपनाहरु मेरी आमाका, मेरा बाबाका र मेरा नजिकका आफन्तहरुका जसले हरेक दिन कम्तिमा एउटा सपना देख्ने गरेका छन् मेरा लागि, सिर्फ मेरा लागि | तिनै रहरहरुका माझ कहिलेकाहीं लाग्थ्यो, बेचिदिउ यो मृत्यु रत्नपार्कमा पसल फैलाएर, होलसेलको दाममा | तर जब फेरी असंख्य समस्याहरुले थिचेर घाइते बनाउँथे, पीडा र बिबसताहरुले चिमोटेर थिलोथिलो पार्थे अनि सपनाहरुले आफ्नै अगाडी खुलेआम आत्महत्या गर्थे तब फेरी एकपटक म साहस बटुलेर तयार भैदिन्थें, सिध्याउन आफैलाई, बलजफ्ती 

अनि आज फेरी अनायास स्मारिकाको यो आगमनले झस्किएको छु म | तर्सिएको छु आफैंदेखि, इतिहास दोहोरिन्छ भन्छन त्यहि पीरले निचोरिएको छु भित्रभित्रै | सोच्दैछु पटक पटक रुन बाध्य पारेर आमाको आँशुको पाप नलागोस मलाइ, निरन्तर बाबुका सपनाहरु बलात्कार गर्नुको श्राप भोग्नु नपरोस मैले, त्यसैले लामो समयको मानसिक अन्तर्द्वन्द पछी निर्णय गरेको छु आज, एउटा कठोर निर्णय |

त्यसपछिका केहि पानाहरु खालि नै थिए, हतार, हतार पानाहरु पल्टाउँदै गएँ, जसको अन्तिम पेजमा लेखिएको थियो

“र, अझै पनि मृत्यु बिक्रीमा छ”

यो त्यहि डायरी थियो जसलाई मैले केहि दिन अघि मात्र पोखरा रंगशालाको बाहिरि चौरमा बेवारिसे अवस्थामा भेटेको थिएँ |

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>