मृत्यु बिक्रीमा छ (भाग-४)

Deathonsale

हातमा बलिरहेको चुरोटको ठुटो त्यहीं आडैमा रहेको इंट्टामा ठोसेर निभाएँ र भर्खरै प्राप्त मेसेज फेरी एकपटक पढें, दोहोर्याई तेहेर्याइ पढें | तर एउटा कुरा मनमा नमिठो संग बिझीरह्यो; किन यस्तो गरि स्मारिकाले म संग? के चाहन्थी आखिर उ? कहाँ हराएकी थिइ उ आजसम्म? फेरी किन आइ उ मेरो जीवनमा फर्किएर? यस्तै यस्तै कुराहरुले निमोठीरह्यो भित्रभित्रै, छटपटी बढिरह्यो निरन्तर |

उ संगको मेरो भेट पनि अनौठो थियो | लगभग ४-५ वर्ष अगाडिको कुरा हुनुपर्छ- अनामनगरमा बस्थें म त्यतिबेला | अनामनगर कोठा सरेर गएको भोलिपल्ट साथीहरुसंग दक्षिणकाली मन्दिर गएको थिएँ | फर्कंदा बाटोमा एउटा स्कूटर भेटियो बिस्तारै गुडिरहेको, दुइ जना थिए, दिदि बहिनि जस्ता लाग्ने, त्यस्तै २०-२२ र १६-१७ वर्ष जतिका | हामि चार जना थियौं दुइवटा मोटरसाइकलमा | केटाहरु न पर्यौं, आफ्नै उमेरका केटीहरु भेटेपछि नजिस्किने कुरै भएन | बाटोभरि, घरि त्यो स्कुटरको अगाडी त घरि पछाडी गर्दै जिस्किँदै आउँदै गर्दा चोभार नजिक आइपुगेपछि पानीको चिप्लोमा चिप्लिएर लडेका थिए तिनीहरु | सामान्य चोट मात्र लागेपनि लाजले हुनुपर्छ अनुहार रातो पारेका थिए दुबैले हामीहरुको अगाडी |

-    “थ्यांक यु” मैले स्कुटर उठाएर स्टेन्ड लगाइदिए पछी स्कुटर चलाउदै गरेकी चाहिंले पेन्टको हिलो

टकटक्याउँदै भनेकी थिइ |

-    “चोट त लागेको छैन नि?” औपचारिकता पुरा गरेको थिएँ मैले |

-    “नाइँ छैन, पेन्टमात्र हिलो भाको हो” उसले भनि |

-    “अनि तपाइंलाई?” पछाडी बसेकिलाई पनि सोधेको थिएँ मैले |

उ केहि नबोली हांसी मात्र रही | त्यहि नै थियो उ संग अर्थात स्मारिका संगको मेरो पहिलो भेट | केहि समयपछि उनीहरु पनि सामान्य भए अनि हामि सबै आ-आफ्नो बाटो लाग्यौं अर्थात काठमाडौँ फर्क्यौं | लगभग संगसंगै, तर नजिस्किकनै | किर्तिपुर उक्लिने बाटो निर आइपुगेपछि हामीले स्पिड बढायौं, उनीहरु बिस्तारै आउँदै थिए, पछाडी पछाडी | बल्खु चोक आइपुगेर हामि रोकियौं, खाजा खान | नजिकैको एउटा रेस्टुरेन्टमा पसेर मो:मो, चिसो र चुरोट मगाई टेबलमा बसेका मात्र के थियौं उनीहरु पनि आइपुगे त्यहीं नै |

-    “ए हजुरहरु पनि यहीं?” दिदिचाहिंले सोधी |

-    “अँ, खाजा खाएर जाउँ न भनेर रोकिएको” हामिमध्येको कसैले बोल्यो |

“दाइ, यी चुरोट लिनुस” बहिनि चाहिंलाइ हेरिरहेको थिएँ, वेटरले झसङ्ग बनाइदियो | उसको हातबाट चुरोट लिएर सल्काएं | “बानि छ, माइन्ड नगर्नुहोला है”- सल्किँदै गरेको चुरोट भएको हात उनीहरूतिर तेर्स्याएर देखाउँदै भनें र अलि परको कुर्सीमा बसें | दुवै केहि बोलेनन, हाँसीमात्र रहे | सामान्य कुराकानी भयो उनीहरुसंग | अनौपचारिक परिचय पनि सायद | यौटै गाउँका दिदीबहिनीहरु रहेछन स्याङ्गजा तिरका, ठुलिआमा सानीआमाका छोरी रे, नाताले पनि दिदीबहिनी नै | पढ्न बसेका काठमान्डुमा | दिदिचाहीं नर्स रहिछे काठमाडौँ मोडेल हस्पिटलमा, बहिनि भर्खर एस.एल.सी सकेर घुम्न आएकी रे, मेसो मिल्यो भने यतै पढ्ने गरेर |

-    “म सुयोग्य है, सुयोग्य लम्साल | कतै बाटोतिर भेटियो फेरी भने बोलाउनुहोला” छुटिने बेला मैले

उनीहरूतिर दायाँ हात हल्लाउँदै भनें | चाहेर पनि उनीहरुको नाम सोध्न सकिएन, डर थियो कस्तो उरंठ्याउलो रहेछ भन्लान कि भनेर |

हामि आफ्नो बाटो लाग्यौं, “साले, फोन नम्बर माग्नु पर्ने नि? त्यो पछाडी बस्ने केटि त बबाल थिइ यार” संजयले भन्यो | राम्रा केटि कसैलाई देख्नै नहुने, उसले पनि त्यहि पछाडी बस्ने केटीलाई नै हेरिरहेको रहेछ | “चुप लाग ! मुला, अघि त्यहीं संगै होउन्जेल केहि बोलिनस, अहिले नम्बर माग्नु पर्ने रे?” मैले हप्काएँ | आफैलाई पनि फोन नम्बर माग्न नसकेकोमा भित्र भित्र चुकचुकी लागिरेहेथ्यो | बाँकी बाटो पनि तिनै केटीहरुको र बिशेषगरि त्यहि पछाडी बस्ने केटिको प्रसंशा गर्दै कटाइयो | त्यसपछिको बाँकी समय शंखमुल साथीको तिर बिताएर साँझ करिब ६:३० बजेतिर न्यु प्लाजा स्थित कोठामा संजयलाई छाडेर म आफ्नो कोठामा आएँ, अनामनगर |

कोठा सरेको तेश्रो दिन हुनुपर्छ सायद, शनिबारको दिन थियो | बिहानै दुध लिन नजिकैको पसलमा गएको थिएँ | एक पोका दुध उठाएँ र भनें साहुजी “१ प्याकेट सुर्य चुरोट पनि है” | खल्तीबाट रु. १०० को नोट निकालेर साहुजीको हातमा थमाएँ र प्याकेटबाट एउटा चुरोट निकालेर सल्काउँदै फिर्ता पैसा कुरिरहेको थिएँ “अंकल, दुध छ?” पछाडी एउटा नारि आवाज सुनें लगभग चिरपरिचित जस्तो र पछाडी फर्केर हेरें | हिजोकै केटी अझै त्यहि पछाडिको सिटमा बस्नेवाला |

-    “हेल्लो” मैले हात हल्लाएँ |

-    “हजुर पनि यता?” निकै अचम्मित हुँदै उसले सोधी |

-    “तपाइंहरुको पनि बसाइ यतै हो?” मैले प्रश्न गरें |

-    “हो त, उ त्यहीं नजिकै” उसले हामि बस्ने घर तिर नै इशारा गर्दै देखाई |

-    “हो र? हामि पनि त्यहि नजिकै त हो नि” साउजीले दिएको फिर्ता पैसा शर्टको खल्तीमा राख्दै मैले भनें |

-    “अनि हिजो कतै लागेको त रहेनछ नि?” मैले बोल्ने प्रसङ्ग निकालें

-    “अलिअलि” छोटो जवाफ दिइ उसले,

-    “अनि दिदीलाई?” मैले फेरी सोधें,

-    “दिदीलाई पनि अलिअलि मात्र, हिजो बेलुका सुत्ने बेला तातो पानिले सेकेर सुतेको, खासै केहि भएको रहेनछ” उसले भनि

गफ गर्दै जाँदा थाहा भो उनीहरु र हामि बस्ने घर नै एउटै रहेछ | अनामनगरस्थित भर्खरै हामि सरेको तिन तले घरको अन्तिम तलामा उ र उसकी दिदि बस्ने रहेछन भने त्यो भन्दा माथिको तलामा हामि | हामि अर्थात् म लगायत अन्य तिन साथीहरु | महिनाको सात हजार तिरेर त्यो पुरै फ्ल्याट हामीले किनेका थियौं मतलब त्यो नितान्त हाम्रो नियन्त्रणमा थियो | पढ्ने बहानामा बसेका हामीहरुको पढाई बाहेक सबैका आफ्ना आफ्नै पेशा थिए, फरक फरक र पनि हामीबीच यौटा समानता थियो –चुरोट | हरेकले चुरोट तान्थ्यौ | त्यसैले हरेक बिहान दुधको प्याकेट संगै चुरोट पनि आउँथ्यो कोठामा |

र अर्को पनि महत्वपुर्ण कुरा, हरेक दिन उसंग भेट हुन्थ्यो, त्यो पनि बिहानै | लगभग उही समय र उही स्थान, बिहान ६:३० बजे अनि घरको मूल गेट | एकदिन मैले अनायास उसको नाम सोधेको थिएँ

-    “तिम्रो नाम चाहिं के रे?”

-    “स्मारिका, स्मारिका पौडेल !” गिज्याएको जस्तै गरि हाँसेकी थिइ उ त्यो दिन तर मुसुक्क |

-    “मैले सम्झेको छु” मैले भनेथें

लाग्थ्यो, त्यसपछिका दिनहरु सबै शुभ नै बितेका थिए | दिनहुँको भेटघाट र कुराकानीले हामि दुवै एक-अर्कासंग नजिक भैसकेका थियौं | कम्तिमा जिस्किने र जिस्काउने क्रम बढ्दो थियो | दिदिसंग पनि सम्बन्ध राम्रै बन्दै गयो |

-    “त्यो चुरोट नखाए हुन्न?” एकदिन पसलबाट दुध र चुरोट किनेर संगै फर्किने बेला अनायास भनि उसले,

-    “नाइँ, हुँदैन रे” मैले भनें

-    “अझै, हुँदैन रे पो? के हुन्छ रे त नखाए?”

-    “पृथ्वी उल्टो घुम्न थाल्छ रे, त्यहि डरले गर्दा खान नछोडेको मैले”

-    “स्टुपिड !!!” दायाँ हातले मेरो बायाँ गालामा बिस्तारै हिर्काउँदै भनि “कति गज्जबको एक्स्युज है?”

-    “हा हा हा, यतापनि…” मैले आफ्नो दायाँ गाला थापें

-    “लौ? किन? के भो?” उसले भनि, केहि नबुझेको जस्तै गरेर

-    “गान्धीजी ले भनेका थिए रे -’यदि कसैले तिम्रो गालामा चड्कन हान्यो भने अर्को पनि गाला थापिदेउ’ त्यसैले”

-    “के त अब? मैले फेरी हान्नु पर्ने?” उसले प्रश्न गरि

-    “म खुसि हुनेछु हान्यौ भने पनि”

-    “फेरी मलाइ नहान्ने भए मात्र? दोस्रोमा पनि हानेपछि के गर्ने गान्धीजी ले भनेका थिएनन भन्दै मलाइ झन दह्रो संग हान्ने होला नि?”

-    “म महिला हिँसा बिरोधि मान्छे हुँ” म जिस्केको थिएँ

जिस्किँदै गर्दा हामि हाम्रो घरमा आइपुगीसकेका थियौं | यसैगरि दिनहरु बित्दै गए, हप्ता बित्यो, र बित्दै गए महिनाहरु पनि | लगभग छ महिना जति उ संग एउटा दुरी कायम गरेर नै बित्यो तर हामि अत्यन्तै नजिक भैसकेका थियौं | यो बिचको समयमा धेरै निकटता नभए पनि मैले कता कता उसलाई मन पराउन थालेको थिएँ र मलाइ स्पष्ट संग थाहा थियो उसले पनि मलाइ मन पराउँथी |

उसकी दिदी प्रायः घरमा हुँदैनथी दिउँसोको समयमा | म साँझको ड्युटी गर्थें पेन्टासफ्ट नामक कम्पनीमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म | दिनभर घरमा बसिरहने कुरा पनि भएन, अनि हामि घुम्न जान्थ्यौं, कहिले कता त कहिले कता | लगनखेल देखि धुलिखेल सम्म र ककनी देखि नगरकोट सम्म कुनै ठाउँ बाँकी रहेनन | चोभार र गोदाबरी पनि कैयौं पटक पुगियो | बिस्तारै हाम्रो निकटता उसकी दिदिसम्म पनि नपुग्ने कुरै भएन, पुग्यो र पनि फरक परेन | त्यसको अर्थ हाम्रो अघोषित सम्बन्धलाई उसकी दिदीले पनि स्वीकारिसकेकी थिइ, सजिलै | हो, हामि यौटा यस्तो सम्बन्धमा बाँधिएका थियौं, जसको कुनै नाउँ नै थिएन, निकटता थियो तर निकट थिएनौं हामि, यौटा दुरी कायम रहिरह्यो हामीबीच, निरन्तर…, न उसले त्यो दुरी मेटाउने प्रयास गरि न मैले नै | सिधा भनौं, हाम्रो सम्बन्धको बारेमा हामीले कहिले पनि खुलेर कुरा नै गरेनौं | सायद दुबैले आवश्यक ठानेनौं वा भनौं समय र परिस्थिति हामि अनुकुल बनिदियो | जे चाह्यो त्यो हुने, जसरि चाह्यो त्यसै गरि भैदिने | कहिलेपनि सम्बन्धको बारेमा खुलेर कुरा गर्नु पर्ने आवश्यकता नै महसुस गरिएन, दुबैजनाले | सम्बन्धहरु त्यतिबेला दरिला र अझै भरपर्दा हुनेरहेछन जतिबेला सम्बन्धको बारेमा खुलेर कुरा गरिन्छ र त्यो बेला मात्र सम्बन्धको बारेमा खुलेर कुरा गर्नु आवश्यक हुन्छ जतिबेला सम्बन्धहरु संकटमा पर्छन वा पारिन्छन | तर हाम्रो सम्बन्ध न त कुनै संकटमा पर्यो न त पारियो नै? त्यसैले कुनै कुरा गर्नु आवश्यक नै भएन हामीबीच, कहिलेपनि- सम्बन्धको बारेमा |

अब त उसको कलेज पनि सुरु भैसकेको थियो, काठमाडौँ मोडेल कलेजमा कक्षा ११ मा भर्ना भएर होटेल म्यानेजमेन्ट पढ्न थालिसकेकी थिइ | कहिलेकाहीं जिस्किन्थें म “अब भने मिठो-मिठो पाक्ने भो है तल?” “खुवाउछु नि मिठो पाक्यो भने, पीर नगर्नुस” उसले मक्ख पार्थि लोभलाग्दो पाराले | अत्यन्तै भाग्यमानि सम्झिन्थें त्यो समयमा आफुलाई | तर नसोचेकै धेरै कुरा हुने रहेछन जिन्दगीमा, नचाहेरै कोल्टो फेर्दो रहेछ जिन्दगीले, त्यही समयले यसरि धारे हात लगाएर सराप्ला भन्ने मैले कहिले पो सोचेको थिएँ होला र ? फेरी त्यहि जिन्दगी यसरि ह्वात्तै कोल्टे फेर्ला भन्ने कल्पना पनि त गरेको थिइन मैले, कहिलेपनि |

र एकदिन उनीहरु कोठा सरे, धापासीमा | कोठा सर्नुभन्दा अघिल्लो दिन बिहान उसले भनेकी थिइ “अब कहिले पो जान पाइएला र यसैगरी बिहानै दुध लिन संगसंगै?” म चुपचाप सुनिरहेको थिएँ उसको कुरा | केहि उत्तर दिन सकिन उसको प्रश्नको, एकोहोरो हिंडीरह्यौँ, दुबैजना संगसंगै | तर उसको प्रश्नले मनमा कता कता बिझाइ रह्यो | पोलिरह्यो भित्रभित्र | “साँच्चिकै हामि बिछोडिदै छौं त?” “के अब हाम्रो सम्बन्ध यतिकै मा सकियो त?” प्रश्न गर्न मन थ्यो उ संग तर सकिन | सोचें उसलाई पनि त यस्तै भएको हुँदो हो? त्यो दिन सायद उ संग भेटेपछिको पहिलो दिन थियो उ र म नजिस्केको अझै भनौं उसलाई नजिस्काएको |

-    “आज दिउँसो फुर्सद छ?” घर नजिक आइपुगेपछि उसले सोधेकि थिइ मलिनो स्वरमा

-    “किन?” मैले प्रश्न गरें

-    “मलाइ आज कतै घुम्न जाने मन छ, अलि टाढा” उसले भनि “र अर्को कुरा मलाइ धेरै कुरा गर्नु पनि छ हजुरसंग”

-    “हुन्छ |” उसकै जस्तो स्वर थियो मेरो पनि | त्यसपछी चुपचाप दुवै घर भित्र पस्यौं, अरु दिनहरु

जस्तो रमाइलो थिएन त्यो दिन | म सरासर माथि उक्लें, ग्याँस चुलोको एकातिर चियाको लागि पानि बसालें, अर्को तिर भर्खरै लिएर आएको दुध बसालें, एउटा चुरोट सल्काएं र बाहिर निस्कें |

कोठामा मोबाइल बज्यो | गएर हेरें मेसेज आएको रहेछ स्मारिकाको | लेखेके थिई “आज पहिलोपटक केहि माग्दैछु हजुरसंग, दिनुहुन्छ?”

-    “प्रयास गर्नेछु, पहिले मागेर त हेर?” मैले भनेको थिएँ |

-    “पहिले दिन्छु भनेर प्रमिस गर्नुस”

-    “प्रमिस गर्नुपर्दैन, तिमीले मागेको कुरा म दिन्न होला त?” मैले भनें

-    “मागम?” उसले त्यति मात्र लेखि

-    “हुन्छ, बरु छिटो माग है, म आतिन्छु तिमीले धेरै बेर लगायौ भने” मैले भनें

-    “यौटा बाचा गर्नुस म संग”

-    “कस्तो बाचा?” मैले सोधें

-    “प्लिज चुरोट छोडिदिनुस, मलाइ थाहा भैसक्यो अब तपाइंले चुरोट छाडेर पृथ्वी उल्टो घुम्दैन”

-    “हा हा हा, म प्रयास गर्छु, तर आजै छोड नभन है?” मैले भनें

-    “किन?” उसले प्रश्न गरि

-    “म पछी भन्छु सबै कुरा” मैले भनें

-    “हुन्छ दिउसो भन्नु पर्छ है?”

-    “हस” मैले भने |

त्यसपछी कुनै उत्तर आएन अनि प्रश्न पनि सोधिएन कुनै |दिउसो ११:३० बजे फोन गरि उसले “म यहाँ मैतिदेवीमा छु, यतै आउनुस अनि घुम्न जाउँला कतै” उसले भनि | “हुन्छ, म १० मिनटमा आइपुग्छु, तिमि मन्दिर अघि बसी राख्नु” मैले भने र लुगा लगाएर निस्किएँ |

“कहाँ जाने?” मैतीदेवी अगाडी पुगेर उसको अगाडी मोटरसाइकल रोक्ने बित्तिकै मैले नें,

-    “थाहा छैन” उसले भनि

-    “अनि कतै टाढा जाने भनेको होइन त?” मैले भनें

-    “हो, तर कहाँ भन्ने थाहा छैन” उसले भनि

हामि त्यहाँबाट पुतलीसडकक हुँदै लैनचौर निस्केर महाराजगंज तिर लाग्यौं | मेरो दिमागमा कुनै गन्तब्य थिएन, उ संग पनि सोधिन कहाँ जाने भनेर | बस चुपचाप, मोटरसाइकल हिंडिरह्यो र हामि पनि बतासियौं, मोटरसाइकल संगसंगै | नारायणगोपाल चोक बाट भित्र छिरेपछि मात्र स्मारिकाले सोधी “कहाँ जाने?” “खोइ, थाहा छैन, जाउँ न, जहाँ त पुगिएला?” मैले भनें र फेरी चुपचाप मोटरसाइकल चलाइरहें |

बुढानिलकण्ठ मन्दिरलाई दाहिने पारेर बुढानिलकण्ठ स्कुल काटेर अलिकति माथि उक्लेपछि आउने सल्लाघारी नजिकै पुगेर रोकियो मोटरसाइकल | घरबाट निस्किने बेला किनेको चुरोटको बट्टाभित्र बाट एउटा चुरोट निकालेर सल्काएं र नजिकै बसें शितलमा, संगै आएर बसी उ पनि तर नटाँसीइकिन |

-    “छोड्नुहुन्न है चुरोट?” उसले भनि

-    “प्रयास गर्छु” मैले भनें

-    “प्रयास गर्छु रे? छोड्छु भन्नु नि नछोडे पनि अब त? दिनहुँ खाएपनि के भो र मैले देख्ने होइन क्यारे? मेरो अगाडी नखाए त भैगो नि?” उसले भनि

-    “मलाइ झुटा कुरा गर्न मन पर्दैन” मैले भनें र संगै थपें “खान्न भनें भने कहिले पनि खान्न, न तिम्रो अगाडी, न पछाडी”

-    “ठिक छ तर मैले कि मलाइ छोड्नुस कि चुरोट भनें भने नि?” उसले भनि

-    “दुवै छोड्दिन, किनभने तिमीहरु दुवै प्यारो लाग्छ मलाइ, अब त झन तिमि नहुँदा तिम्रो याद दिलाउने पनि यहि चुरोट त हुने भो नि मेरो?” मैले भने

-    “म मायाँ गर्छु हजुरलाई” एक्कासी बोलि उ,

-    “र मैले पनि” मैले भनें | त्यो भन्दा बढी केहि बोल्नै सकिन म | हठातको उसको त्यो कुराले

भित्र भित्रै खुसि भए पनि त्यो खुसि ब्यक्त गर्नै सकिन मैले |

त्यसपछी निकै बेर हामि दुवै चुपचाप बसिरह्यौँ, को पहिला बोल्ने भनेर कुरिरहेको जस्तो तर कोहि पनि बोलिएन | उसले २-४ वटा फोन रिसिभ गरिहोला अनि मैले पनि त्यस्तै २-३ वटा, जति बोलियो त्यहि फोनमा कुरा गर्दा मात्र | मैले चेन स्मोकर झैं एकपछि अर्को चुरोट सल्काउँदै गएँ | एकपछि अर्को, एकपछि अर्को निरन्तर, यस्तो लाग्थ्यो त्यो दिन हातमा भएको चुरोटको खिल्ली संगै मेरो मन पनि सल्कीइरहेथ्यो संगसंगै | के बोल्ने? कसरि बोल्ने केहि सुझिरहेकै थिएन दिमागमा | उसको पनि त्यस्तै हाल थियो, घरि खुट्टाको बुढी नंगले भुइँ कोतर्ने त घरि हातका नङ टोक्ने गरिरहेकी थिइ स्मारिका पनि | हरेक दिन एउटा भन्दा बढी चुरोट सल्काउँदा खोसेर मिल्काइदिने उसले त्यो दिन मैले दशौँ चुरोट सल्काउँदा पनि केहि बोलिन, मात्र एकोहोरो हेरिरही मलाइ, सायद मायाले |

-    “मलाइ भगाउनुस, आजै, अहिले नै” अनायास उसले भनि | म अवाक उभीइरहें | चुपचाप…

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>