मृत्यु बिक्रीमा छ (भाग-२)

Deathonsale

भोलिपल्ट,

साथि निमेशले आएर ढोका ढकढकाउदा पो झसङ्ग भएँ र यसो घडी हेरेको त बिहानको ७:४५ भैसकेको रहेछ, हत्तपत्त उठें र ढोका खोलें | खल्तीबाट सुर्य चुरोटको प्याकेट निकाल्दै उसले भन्यो “के हो टन्न जांड खाएर सुतियो जस्तो छ नि? आँखा त रातो छ त?”

-    “होइन यार, कुरा अर्कै छ,”

-    “के कुरा हो त्यस्तो? हामीलाई भन्न हुने हो कि नहुने?” जिस्कियो निमेष,

-    “साले, मैले तँ संग भन्न नहुने अनि नभन्ने कुरा नै के पो होला र?” बट्टाबाट एक

खिल्ली चुरोट निकाल्दै मैले भनें,

-    “त्यसो’भा भन न त,” झ्यार्र सलाईको काँटि सल्काउदै उसले भन्यो,

-    “हिजो एउटा अचम्म भो यार”- मैले चिया को भाँडो ग्यासमा बसाल्दै भनें |

-    “कस्तो अचम्म?”

-    “हिजो एउटाले केटिले फेसबुकमा दह्रो दिमाग चाटी” भन्दै थिएँ मोबाइल याद आयो,

-टेबलमाथि रहेको मोबाइल स्विच अन गरें- “कति गरे पनि नाम थाहा पाउन सकिएन, अझै मोबाइलमा पनि मेसेज आएको थियो” बिचबिचमा चुरोटको सर्को तान्दै हिजो रातिको सबै घटना सुनाएँ उसलाई, त्यतिन्जेल चिया पाकिसकेको थियो | उसको एक हातमा चियाको गिलास थमाउदै भनें- “ओई, केटि राम्री रहिछे भने त तैले भाउजु भन्न पाउलास जस्तो भो नि त दुइ-चार दिनमै”

उ चुपचाप, एकोहोरो मेरो कुरा सुन्दै मुखबाट निस्केको चुरोटको धुवाँलाई गोलो पारेर सिलींगतिर हुत्याउँदै थियो | यस्तो लाग्थ्यो मेरा कुराहरुमा भन्दा उसको ध्यान गोलो हुँदै सिलिंगतिर उड्दै गरेको धुवाँमा अझै बढी थियो |

-    “धेरै मक्ख नपर साले, कुन चाहिंले केटि बनेर तँलाई मुर्गा बनाइरा’को होला?” लगभग फिल्टर सम्म बलेको चुरोटको ठुटो नजिकै को एस्ट्रे मा निभाउदै उसले भन्यो, निमेष बोल्दैथ्यो त्यहि बेला मोबाइलमा मेसेज को टोन बज्यो | लगातार करिब ५-७ पटक बजेपछि आवाज बन्द भयो, यसो हेरेको “7 message received” लेखिएको थियो स्क्रीनमा | सबै उसैका अर्थात सागरिका (उसले मलाइ मात्र दिएको उसको नाम) का थिए | लगभग उस्तै ब्योहोराका- “उठिएको छैन अझै?” “चिया खाको हो?”, “चुरोट पनि खाको होला?”, “मोबाइल किन अफ?”, “रिप्लाई नगर्ने नै हो त?” आदि आदि | कुनै धम्कीपूर्ण त कुनै मायालु जस्ता लाग्ने, तर सबैको सार संक्षेपमा एउटै थियो- “म उसको लागि महत्वपूर्ण छु र उ मलाइ अझैपनि माया गर्छे” उसको त्यो “अझैपनि” को अर्थ बुझ्न निकै कठिन भो मलाइ भनु बुझ्दै बुझिन | कहिले पो माया गरेकी थिइ र उसले मलाइ, फेरी अझै पनि माया गर्छु भन्नु पर्ने? उसका मेसेज हरुको खास अर्थ नबुझेपनि रोमन मा नै रिप्लाई गरें मैले “भर्खर उठें, चिया र चुरोट पिउँदै छु अनि तिमि के गर्दै?”

-    “भर्खर खाजा खाएँ, आज त घर मा छु नि, ममीले पकाको मिठो मिठो खाने” तुरुन्तै रिप्लाई गरि |

-    “लक्की यु” यतिमात्र लेखेर सेन्ड गरिदिएँ | निमेशले त्यो नम्बर कतै आफ्नो मोबाइलमा सेभ छ कि भनेर चेक गर्यो, रहेनछ | अनि भन्यो केटि नै हुनसक्छ फोन गर न एकपटक को रहेछ थाहा भैहाल्छ नि ?

-    “ठिक भनिस यार !” मैले तुरुन्त कल गरें, “तपाईंले डायल गर्नुभएको नम्बर अहिले ब्यस्त छ” दुइ घन्टी गएपछि फोन काटियो उताबाट,

-    “को हो भनेर चेक गर्न होला नि फोन गरेको? मैले उठाए पो?” उताबाट मेसेज आयो, मैले कुनै रेस्पोन्स गरिन त्यो मेसेज को, “म ममी संग बाहिर जानु लागेको, पछी मेसेज गर्छु है” फेरी उसैले मेसेज गरि |

-    “ओके, टेक योर टाइम” मैले रिप्लाई गरें |

केहि समय उसैको कुरा अनि केहि नितान्त आफ्नै मात्र कुराहरु गरेर साँझ जर्मन बेकरी, ड्यामसाइडमा भेट हुने प्रतिबद्धताका साथ निमेष निस्क्यो कोठाबाट |

निमेष गएपछि फेरी एक कप कालो कफी बनाएँ, यौटा चुरोट बलिरहेको ग्याँसमा सल्काएं र बाहिर बरन्डामा निस्कें | श्रावण भदौ को महिना, बिहानै देखि निकै चर्को घाम लागिरहेको थियो, सफा मौसम, अगाडी हाँसिरहेको माछापुच्छ्रे हिमाल, छेवैमा हरियो जंगलले ढाकिएको काहुँ डाँडा र हातमा चुरोट अनि ब्ल्याक कफी, त्यसमाथि मन मा को होला? के होला? कहाँ की होला? यस्तैखाले कौतुहलता, समय नै रोमान्चक थियो वा मेरो मन मात्र? जे होस् म रोमान्चित भैरहेको थिएँ त्यो बिहान |

-    “Do you have a girlfriend?” उसैको मेसेज आयो,

-    “Nope! Do you? I mean –have a boyfriend?” मैले सोधें,

-    “What do you think? Guess!!!” उसले लेखि

-    “Umm, I guess, you have.” मैले फेरी लेखें “I think every girl has a boyfriend these days. And you’re not an exception at all.”

-    “What if I said-I don’t have and I am an exception?” उसले प्रश्न गरि,

-    “What if? Simple. I think, still I have some scope” मैले भनें,

-    “and again, you didn’t reply me. Do you have a girlfriend” उसले फेरी सोधी,

-    “What if, If I have?” अब मेरो पालो थियो सायद,

-    “What? I’ll kill myself…..” उसले यतिमात्र लेखि,

-    “Ha, ha ha, Do you need any help? I mean a rope to hang or a bottle of poison to drink?” मैले मजाक सुरु गरें

उसले रिप्लाई गरिन, म कोठा भित्र छिरेर कोठा मिलाउन थालें, घरि घरि मोबाइल हेरिरहन्थें कतै रिप्लाई गरि कि भनेर? लगभग एक घण्टा सम्म पनि उसको मेसेज को रिप्लाई नआएपछी आफैले अर्को मेसेज पठाएँ “Where are you? You lost! Still hanging or already killed yourself?”

शनिबारको दिन, कोठा सफा गर्ने, खाना बनाउने, लुगा धुने यस्तै यस्तै काम मा म ब्यस्त भए त्यसपछी को केहि समय तर पनि बिच-बिचमा मोबाइल हेरिरहन्थें, लामो समय सम्म उसको रिप्लाई नआएपछी उसको नम्बर डायल गरें, उताबाट आवाज आयो – “माफ गर्नुहोला, तपाइंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ…”

दिनभर त्यसै बित्यो | तैपनि बेला बेला मोबाइल हेरिरहन्थें कतै रिप्लाई आयो कि भनेर तर अहँ, न उसको रिप्लाई नै आयो न त उसको फोन अन नै भयो | साँझपख साथिहरुसंग जर्मन बेकरी मा भेट्ने प्लान थियो त्यसैले उतै लागियो, तैपनि बिच-बिचमा मोबाइलमा आँखा लगाइरहन्थें | दिनभर लोडशेडिंग को कारणले मोबाइल चार्ज गर्न पानि पाइएन, ब्याट्री निकै कम थ्यो त्यसैमाथि साथीहरुले कति मोबाइलमा मात्रै झुण्डीइराको भनेर कराउन थालेपछि खल्तीमा राखें | निकै रमाइलो भयो त्यो दिन, धेरै पछी संगै काम गरेका साथीहरु संग भेट भएको थियो, कति कामका कुरा, कति बेकाम का कुरा, केहि पढाई का कुरा केहि रमाइलो, ठट्टा, अनि फेरी केटि साथि, गर्लफ्रेन्ड र जिन्दगीका कुरा ! समग्रमा एउटा पुरै जिन्दगीको कुरा गरियो होला | त्यो दिन यस्तो लाग्यो कि समस्या सबैका हुँदारहेछन | व्यक्ति फरक हुन सक्ला, परिबेश फरक हुन सक्ला संगसंगै समस्या पनि फरक नै होलान तर समस्या बिहिन मान्छे भेट्नु लगभग असम्भब नै हुँदोरहेछ | त्यो दिनको हाम्रो जमघट फरक-फरक पृष्ठभुमीका तर उस्तै समस्या र लगभग एकै खालको भोगाई भोगिरहेका विभिन्न पात्रहरुको प्रतिनिधित्व गर्ने समूह जस्तै लाग्दैथ्यो | समग्रमा सबै आफ्ना आफ्ना समस्या हरुबाट केहि समय मात्र भए पनि भागेर आफु जिउनुको अर्थ खोज्दै पो थियौं कि जस्तो | आफैं देखि भागेर, आफैंलाई झुक्याएर रमाइलो गर्ने बहानामा सायद सफल भएका थियौं हामि त्यसैले पनि हुन सक्छ निकै रमाइलो अनुभूति भएको थियो त्यो दिन |

जर्मन बेकरीबाट करिब ६:३० बजे तिर निस्केको हाम्रो समूह राति करिब १०:३० बजे लेकसाइड बाट ट्याक्सी चढी पृथ्वीचोक आएर छुट्टियो, करिब ११ बजेतिर | सबै साथि हरुसंग बिदा भएर कोठामा आएँ, दिनभर जे जे गरे पनि, जहाँ जता हराएपनि, जति रमाइलो गरेपनि आफ्नो पीडा अनि आ-आफ्नो बास्तबिकता त आ-आफ्नै साथमा हुने रहेछ | साथीहरुसंग छुटिएर कोठामा छिर्नासाथ म फेरी आफ्नै बास्तबिकतामा फर्कें, उही घर, उही कोठा, उही खाट अनि उही ग्याँस चुलो र स्ट्याण्ड | दिनभर पो आफ्नो बास्तबिकता बिर्सेको रहेछु र रमाइलो भएको रहेछ | अब फेरी उही जिन्दगि, उही अभाब, उही शुन्यता जिन्दगीमा, कताकता हिनताबोध, संगै पढेका साथीहरुको जतिको प्रगति गर्न नसकेकोमा अनि आफ्ना आमाबाबुको सपनाहरु बिबश भएर आफैले बलात्कार गर्नुपर्दाको पीडा (?) आखिर के रहेछ र जिन्दगी?

मोबाइल चार्जमा राखें, ल्यापटप अन गरें र फेसबुक साइन इन गरें | मेसेज आएको रहेछ, कतै सागरिकाको त होइन भनेर हतार हतार हेरें, उसैको रहेछ | लेखेकी थिइ- “ओई कता गायब? दिनभर मान्छे डोरी लिएर आउला भनेर कुर्दा कुर्दा? कि आफैले युज गरेको हो र? डोरी” | मैले कुनै रिप्लाई गरिन |

-    “हाइ, सन्चै?” उ अनलाइन नै रहिछे,

-    “अँ, ज्युँदै छु” मैले लेखें,

-    “के रे? के भो?”

-    “केहि भएको छैन” मैले भनें

-    “किन त यस्तो उदास?” उसले प्रश्न गरि,

-    “सधैं रमाइलो नहुँदो रहेछ जिन्दगी, आज नरमाइलो लागिरहेछ”

-    “किन? केहि नराम्रो भयो र?” उसले सहानुभुती ब्यक्त गर्न खोजि

-    “होइन, सबै ठिक छ” अलि सहज हुने प्रयास गरें मैले

-    “साँच्ची भन्नु त कस्तो छ तपाइंलाई?” उसले चिन्ता ब्यक्त गरि

-    “म ठिक छु, सबै गज्जब चल्दै छ” मेरो उत्तर थियो

-    “तपाईं धेरै सोच्नुहुन्छ जिन्दगीको बारेमा, त्यसैले यस्तो कुरा गर्नुहुन्छ सायद” उसले भनि

किन किन मलाइ त्यो दिन उ संग कुरा गर्ने मन नै थिएन, कुनै रिप्लाई नै गरिन उसको कुराको | उसले फेरी लेखि-

-    “किन? कुरा गर्न मूड छैन हो आज?”

-    “मलाइ परिचय चाहियो तिम्रो” मैले ठाडै भनें

-    “परिचय? किन? मैले भनें त –तपाईंको लागि म सागरिका | तपाईं मलाइ यहि नामले सम्बोधन गर्नुस निकै खुसि हुनेछु म”

-    “सरि ! म तिम्रो खुसीको लागि आफ्नै खुसि बन्धक राख्न सक्दिन | मैले चिन्नु छ तिमीलाई” सायद म अलि बढी नै झोक्कीएँ |

-    “केहि दिन त धैर्य गर्नुस बाबा, भनिहाल्छु नि म, कति रिसाइराको?” फेरी थपी- “कसैको नभाको रिस, नाकको टुप्पामा छ होला नि त?”

-    “कम्तिमा चिनजानको औपचारिकता त पुरा हुनु पर्यो नि?” मैले भने

-    “तपाइंलाई मेरो नाम चाहिएको होइन? मैले दिएँ त एउटा नाम” उसले कसै गरे पनि केहि नभन्ने अठोट गरेजस्तै लाग्यो |

-    “गुड नाइट, म सुतें | तिमीसंग बेफ्वाँकका कुरा गरेर रात फाल्नु छैन मलाइ” यति लेखेर उसको प्रतिक्रियाको कुनै वास्ता नगरी साइन आउट गरें र सुत्ने तरखर गर्दै थिएँ मोबाइल बज्यो, मेसेज आएको रहेछ, हेरें, लेखिएको थियो

-    “रिस को पोको !”

-    “मलाई तिम्रो परिचय चाहियो” फेरी त्यहि प्रसंग कोट्याएँ मैले

-    “प्लिज, मलाइ यति छिटै परिचय दिन बाध्य नपार्नुस, म फेरी तपाइंलाई गुमाउन चाहन्न, यति बुझ्नुस म तपाइंलाई सानै देखि माया गर्थें र अझै पनि गरिरहन्छु” उसले लेखि

-    “तर? को हौ त तिमि? मैले चिन्छु तिमीलाई? हाम्रो भेट भएको छ?”

-    “हो त्यहि त म भन्न सक्दिन अहिले नै, म को हो भनेर | तर यो चाहिं भन्छु हाम्रो भेट भने भएको छ | नत्र म के अन्तर्यामी हो र हजुरको सबै कुरा आफै थाहा पाउनलाइ?” उसले भनि |

-    “ठिक छ त्यसो भए भन म बाट के चाहन्छौ तिमि?”

-    “माया” उसले भनि

-    “माया? मैले गरिन भने?” मैले जिस्किदै भने तरपनि कता कता लागिरहेथ्यो कि म पनि उसलाई माया गर्न थालेको छु, मन पराउन थालेको छु भित्रभित्रै | नत्र किन त उसको मेसेज नआउँदा दिनभर नरमाइलो लागेको मलाइ? उसको फोन अफ हुँदा किन त्यस्तो छटपटी म भित्र?

-    “यु वेर मिस्ड टुडे” उसको जवाफ आउनु भन्दा अगाडी नै मैले अर्को मेसेज गरें

-    “आइ नो, यु मिस्ड मि कज आइ मेड यु टु मिस ! बट यु नो? सिरियसली, आइ विल किल माइसेल्फ इफ यु से आइ ह्याब अ गर्लफ्रेन्ड” उसले भनि,

-    “सुड आइ हेल्प?”

-    “फेरी त्यहि कुरा? स्टुपिड !!!” उसले भनि

फेरी उसको कुराको उत्तर केहि पनि दिइन मैले, के गरुं, के नगरुंको दोसाँधमा थिएँ | खाँचो मलाइ पनि त थियो माया गर्ने मान्छे को, रहर मलाइ पनि त थियो दिनहुँ जर्मन बेकरीमा भेटीइने प्रेमिल जोडीहरु जस्तै संगै कफी खान जाने आफ्नी प्रेमिकासँग | दुवैजना मिलेर माया-प्रेमका मिठा मिठा कुराहरु गर्ने, एक अर्का संगै रमाइलो जिन्दगीको कल्पना गर्दै फेवातालको किनारमा घन्टौं बिताउने | तर के सबै रहरहरु पुरा हुनै पर्छ भन्ने छ र? सबै देखेका सपनाहरु साकार हुनै पर्छ भन्ने छ र?

-    “रिसाको हो?” उसले फेरी मेसेज गरि

-    “नाइँ, छैन | तिमीसंग कसरि कुरा गरुं भनेर सोच्दै” मैले भनें

-    “कसरि? मतलब?” उसले प्रश्न गरि

-    “म अन्यौलमा छु, तिमीसंग कसरि बोल्ने? कसरि कुरा गर्ने भनेर? परिचित वा अपरिचित?” मैले भनें

-    “बोल्नु पर्दैन, मात्र मेसेजको रिप्लाई गरे पुग्छ अहिलेलाइ | अनि अर्को कुरा हामि एक अर्का संग परिचित छौं र पनि अपरिचित” उसले भनि

-    “मतलब?” मैले प्रश्न गरें,

-    “मतलब, मैले जहिले देखि हजुरलाई चिनें त्यहि समय देखि चिन्नु हुन्छ हजुरले पनि मलाइ | तर अब को? के? कहाँ र कसरि नसोध्नुस? आफुले सोधेको कुराको जवाफ पाउनु भएन भने रिस उठ्न सक्छ तपाइंलाई” उसले भनि | म झन अन्यौलमा परें | यसो घडी हेरें, रातको १:४५ भैसकेको रहेछ |

-    “सुत्ने होइन अब? सुत्नुस, भोलि कुरा गरौंला | गुड नाइट” उसले सबै कुरा सकी त्यो दिनको लागि |

-    “अब सुत्ने हो, गुड नाइट” मैले पनि बल्लबल्ल छुटकारा पाए जसरि सजिलै गुड नाइट भनिदिएँ |

About The Author
Aryal Suraj Owner/Author/Writer An ICT (Information & Communication Technology) student with Computer Networks & Critical Network Security as a major. Loves to use different information & communication technologies. Free & Open Source Enthusiast & a freelance web developer. Tweetaholic, and a JOOMLA & WORDPRESS Customizer
Category: Product #: Regular price:$ (Sale ends ) Available from: Condition: Good ! Order now!
Reviewed by on. Rating:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>